नयाँदिल्ली- आजको डिजिटल दुनियाँमा नयाँ-नयाँ प्रकारका ठगी भइरहेका छन्। तीमध्ये एक हो, हनी ट्र्याप।
हनी ट्र्याप एक यस्तो ठगी हो, जसमा एक महिलालाई अगाडि सारेर आपराधिक गिरोहहरूले पुरुषहरूलाई फसाउँदै कुस्त असुली गर्छन्। अनपढ होइन, यसमा पढे-लेखेका मानिस नै शिकार बन्छन्।
गत वर्ष भारतको महाराष्ट्र राज्यको एन्टी-टेरोरिजम स्क्वाड (एटीएस)ले रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ)का एक वैज्ञानिकलाई पक्राउ गरेको थियो। उनीमाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप थियो। खासमा, त्यो हनी ट्र्याप थियो। उनलाई फसाउने महिला पाकिस्तानकी एजेन्ट थिइन्।
सन् २०२३ मा यूएन ह्युमन राइट्सले हनी ट्र्यापमाथि एक रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टअनुसार संगठित आपराधिक ग्याङहरूले दक्षिण-पूर्वी एसियामा हजारौं मानिसलाई हनी ट्र्यापको शिकार बनाएका थिए। सोही रिपोर्टअनुसार सन् २०२१ मा हनी ट्र्यापमार्फत ६४ हजार करोड भारतीय रुपैयाँ असुलिएको थियो।
हनी ट्र्याप खासगरी दुश्मन मुलुकका गोप्य सूचनाहरू प्राप्त गर्न र रकम असुल्न गरी दुई उद्देश्यका लागि प्रयोग गर्ने गरिएको छ। त्यसका लागि धेरै सम्पत्ति भएका र उच्च सरकारी अधिकारीहरूलाई फसाउने गर्छन्, संगठित गिरोहहरूले।
हनी ट्र्याप शब्दको प्रयोग पहिलोपटक ब्रिटिस उपन्यासकार जोन ली क्यारीले गरेका थिए। उनले सन् १९७४ मा प्रकाशित उपन्यास ‘टिंकर टेलर सोल्जर स्पाई’मा यो शब्दको उपयोग गरेका थिए।
कस्ता व्यक्ति हुन्छन् शिकार ?
– जो कुनै ठूलो प्रतिष्ठित र जिम्मेवार पदमा हुन्छन्
– जो यस्ता प्रोफेसनमा हुन्छन्, जोसँग जरुरी संवेदनशील सूचना हुन्छ
– धनाढ्य व्यक्तिहरू, जोसँग ब्ल्याकमलेर्सलाई दिनका लागि पैसा हुन्छ
– जो सिंगल, एक्लो र जोखिमपूर्ण अवस्थामा हुन्छ
– जो सहजै म्यानुपुलेट हुन्छ या सहजै जालमा फस्छ
– जसको विपरीत लिंगसँग अत्यधिक आशक्त हुन्छ
– जो शारीरिक सम्पर्क राख्नबाट वञ्चित हुन्छ र त्यसका कारण सधैं परेशान रहन्छ
कसरी गर्ने हनी ट्र्यापको पहिचान ?
– कसैले तपाईंलाई कुनै अन्जान ठाउँ या होटलमा भेट्न बोलाइरहेको छ भने हनी ट्र्यापको जोखिम हुन सक्छ
– डेटिङ एपहरूमा भेटिएका कुनै व्यक्ति तपाईंलाई इमोसनल्ली म्यानुपुलेट गर्न आफ्ना दुःख, दर्द सुनाइरहको छ भने पनि जोखिमपूर्ण हुन सक्छ
– डेटिङ एपमा भेटिएको व्यक्ति कुनै अन्जान ठाउँमा भेट्न बोलाइरहेको छ भने
– डेटिङ एपमा भेटिएको कुनै व्यक्तिको डिजिटल फुटप्रिन्ट छैन भने पनि हनी ट्र्यापर हुन सक्छ
– कुनै अन्जान व्यक्तिले बारम्बार सामाजिक सञ्जालहरूमा फ्रेन्ड रिक्वेस्ट पठाइरहेको छ भने त्यस्तो रिक्वेस्ट एसेप्ट नगर्नूस्
– सामाजिक सञ्जालमा कुनै व्यक्तिको प्रोफाइल नै संदिग्ध प्रकारको छ भने
– तपाईंलाई कुनै व्यक्तिले अत्यधिक प्रश्न सोधिरहेको छ भने पनि हनी ट्र्यापर हुन सक्छ