नयाँदिल्ली- इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को सन् २०१९ को रिपोर्टअनुसार अण्डाशय (ओभरी)को क्यान्सर भारतमा महिलाहरूलाई हुने तेस्रो ठूलो प्राणघातक रोग हो। संसारभरमा बर्सेनि करिब पौने २ लाख महिलाको मृत्युको कारण ओभरियन क्यान्सर नै हो।
धेरै महिलालाई आफूलाई ओभरियन क्यान्सर भएको जानकारी नै हुँदैन। कारण- यसका लक्षण धेरै ढिलो मात्र देखिन थाल्छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०१८ मा यसका कारण १ लाख ८४ हजार ७९९ महिलाको मृत्यु भएको थियो।
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सन् २०२४ मा हालसम्म अमेरिकामा मात्र अण्डाशयको क्यान्सरका १९ हजार ६८० बिरामी फेला परिसकेका छन्। डब्लूएचओका अनुसार भारतमा ओभरियन क्यान्सरको दर प्रति १ लाखमा ६.८ छ। यो ३५ वर्षदेखि शुरु भएर ५५ देखि ६४ वर्ष उमेर समूहका महिलामा ज्यादा देखिने गरेको छ।
यी हुन् यसका ४ स्टेज
– स्टेज-१- क्यान्सर एक या दुवै अण्डाशयमा सीमित रहन्छ
– स्टेज-२- क्यान्सर पेल्भिससम्म पुग्छ
– स्टेज-३- क्यान्सरमा पेटमा फैलिइसकेको हुन्छ
– स्टेज-४- क्यान्सर पेटबाट शरीरका अन्य अंगमा फैलिइसकेको हुन्छ
यस्ता छन् लक्षण
– पेट फुल्नु
– खाना खानासाथ पेट भारी भएको महशुस हुनु र भोक कम लाग्नु
– बारम्बार पिसाब लागिरहनु
– पाचन प्रणाली खराब हुनु, सधैं कब्जियत भइरहनु
– साह्रै थकान लागिरहनु र कम्मर दुखिरहनु
– महिनावारीमा अत्यधिक रक्तश्राव हुनु र दुखाइ पनि ज्यादा हुनु
– पेल्भिक एरिया र पेटमा दुखाइ र सुन्निने समस्या देखिनु
– सम्भोगको दौरान असह्य दुखाइ हुनु
यी हुन् कारण
– ४० वर्षभन्दा माथिको उमेर
– अण्डाशयमा क्यान्सरको वंशाणुगत हिस्ट्री
– महिनावारीको दौरान एन्डोमेट्रियोसिसको समस्या हुनु
– सूर्तिजन्य पदार्थको सेवन र धुम्रपान
– निसन्तान रहनु
– हार्मोन थेरोपी लिनु
– इन्फर्टिलिटीको मेडिकेसनका कारण
– हार्मोनल बर्थ कन्ट्रोल पिल्स खानु
– अत्यधिक मोटोपनका कारण
कसरी बच्ने ?
ओभरियन क्यान्सरबाट बच्न महिलाहरूले आफ्नो जीवनशैलीमा ज्यादा ध्यान दिनु जरुरी छ। प्रोटिनबाट भरपूर डाइट लिनुपर्छ। फास्ट फुड र ज्यादा फ्याटवाला खानेकुराबाट टाढै रहनु उचित हुनछ।
दैनिक शारीरिक व्यायाम गर्नुपर्छ। सूर्तिजन्य पदार्थ, चुरोट र अल्कोहलबाट टाढा बस्नुपर्छ। महिनावारीको दौरान अत्यधिक रक्तश्राव हुन्छ भने चिकित्सकसँग जाँच गराइहाल्नुपर्छ।
भास्कर डट कमबाट