सरकारको चुनावको मुखमा धमाधम राजनीतिक नियुक्ति गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ती नियुक्ति गरेको हो।
परराष्ट्र सेवाका आठ र बाहिरका १२ जना गरी २० जनालाई राजदूतका लागि सिफारिस गरिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ।
त्यसमा चीनमा रिक्त राजदूतका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली ढकाल, श्रीलंकामा बासुदेव मिश्र, रुसमा मिलन तुलाधर, अस्ट्रेलियामा कैलाश पोखरेल, मलेसियामा डिल्लीराज पौडेल, इजरायलमा शान्ता रिजाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल, डेनमार्कमा प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियामा नवराज सुवेदी सिफारिसमा परेका छन्।
यसैगरी परराष्ट्र मन्त्रालयका करिअर डिप्लाम्याटहरू घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी राजदूतको सिफारिसमा परेका छन्।
यस्तै, सरकारले विवादित पृष्ठभूमिका सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको छ। उनी टेलिकम सेवाबाहिरका व्यक्ति हुन्। टेलिकममा सेवाभित्रकै अधिकारीलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने परम्परा सरकारले तोडेर बाहिरका व्यक्तिलाई नियुक्ति दिएको छ। त्यसविरुद्ध बिहीबारदेखि नै टेलिकम कर्मचारीले आन्दोलन शुरु गरिसकेका छन्।