नेपाली महिला दिदी-बहिनीहरूले मनाउने गरेको चाड तीज महिनौंदेखि मनाउने गरेकोमा यसलाई विकृतिको रूपमा व्याख्या गर्ने गरेको पाइन्छ। तथापि, दशैं आउन १ महिना पहिलादेखि नै तास र मदिरामा रमाउने कार्यलाई विकृतिको रूपमा कमै मानिन्छ।
धर्मका नाममा हो वा अर्थोपार्जनका लागि, जे भने पनि हिउँद लागेदेखि गाउँभरि ध्वनि प्रदूषण हुने गरी लगाइएका पुराणहरूले कतिका कानका जाली फाटिएका हुन्छन् भने पढ्ने बालबालिका र ज्येष्ठ नागरिकहरूको हुर्मत लिँदा विकृति हुँदैन। मन्दिरमा बिहानै चर्को ध्वनिमा बज्ने भजनहरूले बेलुका अबेरसम्म पढेर सुत्नेहरूलाई कति दुःख दिएको होला भन्न सकिन्न।
हरेक क्षेत्रका गतिविधिहरू सामान्यभन्दा असामान्य लाग्ने खालका हुन सक्छन् तर ती समुदायको छनोट नै त्यही छ भने हामीले आपत्ति मान्नुको कुनै तुक रहँदैन।
मेरो जीवन मेरो छनोट भन्दै कोही कर्तव्यवाट विमुख बन्दै जान्छ भने त्यो नैतिकताको विषय बन्छ, कसैले बाध्य बनाउन सकिँदैन। हिजोका दिनमा आफूले तीजमा खर्च गर्ने रकमबाट केही मात्रामा कटौति गरेर महिलाहरूले बाढी पीडितहरूका लागि सहयोग गरेका उदाहरणहरू पनि छन्। यसमा उनीहरूले वहन गरेको सामाजिक जिम्मेवारीको प्रशंसा नै भएको हो।
आजका दिनमा तीज परम्परागतभन्दा फरक भएको पक्कै हो। तर, यो किन यस्तो भयो ? ठीक भयो कि बेठिक भयो ? भड्किलो भयो या फजुलखर्ची भयो ? यसको फरफारक गर्ने जिम्मेवारी पनि महिलाहरूकै हो।
आज पनि सबै महिलाहरूको अवस्था एकै छैन भन्ने बुझेका महिलाहरू नेतृत्व तहमा पुगेका होलान्। महिलाहरू हरेक घटना परिघटनाको विश्लेषण गर्न सक्षम नै रहेको अवस्थामा तीजलगायत अन्य हाम्रा रीतिरिवाजहरूमा उनीहरूको धारणा प्रष्ट रूपमा आउन सक्ने हो भने समाजका लागि राम्रै होला।
के विकृति हो, के संस्कृति, यसको छिनोफानो कसले गर्ने ? नेपाली शब्दकोषका अनुसार विकृति भन्नाले परम्परा मान्यता धारणा वा विश्वासमा आएको परिवर्तन पनि मानिएको छ। यसलाई मान्ने हो भने परम्परागत मान्यता धेरैमा परिवर्तन भएको छ।
श्रीमतीको कमाइ खानु हुन्न भन्ने हाम्रो सामाजिक मान्यता धर्खराएको छ। घरायसी काममा मात्रै रहने महिलाहरू पुरुषसरह विदेश गएका छन्, महिलाको आय आर्जनले पुरुष मात्रै नभई उसको परिवार र घर चलेको छ। परम्परागत सम्बन्धहरू भत्किएका छन्। पूर्ण रूपमा नभए पनि धेरै मात्रामा छुवाछुत हटेको छ। बोक्सी प्रथा, बाल विवाह, छाउपडीजस्ता हानीकारक सामाजिक विकृतिहरू घट्दै जान थालेका छन्।
आजका तुलनामा हिजोका दिनमा महिलामाथि विभिन्न किसिमका हिंसाहरू बढी नै भएका थिए। आफूमाथि भएको हिंसाको न्याय त कता हो कता अभिव्यक्त गर्ने अवसरसमेत नहुँदाको अवस्थामा तीज महिलाको आवाज बन्ने गरेको थियो नै।
जनै पूर्णिमादेखि साँझमा घर धन्दा सकेर एउटा घरमा भेला भई आफ्ना भोगाइ, सामाजिक विकृतिविरुद्ध गीत-संगीतको माध्यमबाट समाजमा चेतना फैलाउने आमा-दिदीहरू विश्वव्यापीकरणको पञ्जाबाट अलग रहन असम्भव नै हुन्छ। यसैको परिणामस्वरूप आज दिदी-बहिनीहरू होटल र पार्टी प्यालेसमा पुगेका हुन् भने त्यसलाई अर्घेलो किन मान्ने ?
सूचना र परिवर्तनमा आएको क्रान्तिले आर्थिक, सांस्कृतिक विश्वव्यापीकरण तीव्र रूपमा अगाडि बढेको छ। आमसञ्चारले सांस्कृतिक मूल्य मान्यता विशेषगरी उपभोगवादी समाजका मान्यताहरू विस्तार गरेको छ, जसका कारण हिजो सीमित मात्रामा हुने पहिरन पोशाकहरू आज छिटो-छिटो परिवर्तन हुने र जति बढी पोशाक परिवर्तन गर्यो, उही समृद्ध र आधुनिक हुने मान्यता स्थापित भएको छ।
त्यसको झल्को तीज, दशैंजस्ता चाडपर्वहरूमा देख्न सकिन्छ। महिलाहरू तीज पर्व मनाउने अवसरमा दैनन्दिन नयाँ पोशाक पहिरन अझ एकै प्रकारको पहिरनमा देखिनु यसैको परिणााम मान्न सकिन्छ।
वस्तुको उपभोग र संग्रह आवश्यकताका आधारमा भन्दा पनि विज्ञापन र बजारका आधारमा हुने गरेको देख्न सकिन्छ। बजार सशक्त रूपमा अगाडि बढेको छ। ज्ञान र विवेकका खुराकहरू कम तर एक सामानको खरिदमा एक सित्तैंमा, अनलाइन तथा घरमै सामानको डेलिभरीजस्ता विज्ञापनहरू सामाजिक सञ्जालमा देखिनु बजारले उपभोक्ता तयार गर्ने नीति नै हो।
यदि बजारले उपभोक्ता तयार गर्न सकेन भने पुँजीवादको अस्तित्व नै कहाँ रहन्छ र ? तास, जुवा खेल्न कानूनले वर्जित गरेको छ। तर, भारी मात्रामा तास, जुवाका साधनहरू आयात भएको देखिएको नै छ। यसले प्रष्ट गर्छ कि कानूनसमेत बजारका कारणले अस्तव्यस्त बनेको छ।
अब त गाउँहरूमा समेत सामाजिक क्रियाकलापहरूको ढाँचा परिवर्तन भएको छ। गाउँ-गाउँमा समेत पार्टी प्यालेस नामका भवनहरू निर्माण भएका छन्। नभएका स्थानमा समेत सामुदायिक भवनहरू वग्रेल्ती निर्माण हुने गरेका छन्।
उत्पादनमा जोडिने र श्रममा विश्वास गर्नेहरूको संख्या क्रमशः घट्दै गएको छ। रेमिट्यान्सले मौलाएको नेपाली समाज उपभोक्तावादी भएकोमा राज्यलाई त चिन्ता छैन नै, अनेकन वित्तीय साक्षरताका कक्षाहरू सञ्चालनका बावजुद व्यक्तिहरूमा समेत बचत गर्ने र उद्यमशील बन्ने अवस्था सिर्जना हुन सकेन।
समग्रमा भन्ने हो भने आधा आकाश महिनौंदेखि खुशीमा रमाएको छ। कर्पोरेट कार्यालयहरूले त विगतदेखि नै तीजका लागि खर्च छुट्याएका नै थिए, अब त दलका भातृ संगठनहरूले समेत तीजको तामझामका माझ आफ्ना राजनीतिक (?) गतिविधि गर्न थालेका छन्। हामी यति मात्रै भनौं- यो एक महिने तीजको रमझममा तल्लो वर्गका महिलाहरू समेत संलग्न हुन सक्ने वातावरण बनोस् र अति भोजनको मारमा हाम्रा चेलीहरू बिरामी नबनून्। ह्याप्पी तीज !