नयाँदिल्ली- पछिल्ला दिनमा अमेरिकामा आरोपोच नामक भाइरस तीव्र गतिमा फैलिरहेको छ। अमेरिकामा मात्र ८ हजारभन्दा बढी यसबाट संक्रमित भइसकेका छन्।
यो बिमारी लामखुट्टे जनित रोग जिकासँग मिल्दोजुल्दो छ। अचानक ज्वरो, जाडो महशुस हुनु, मांसपेशीहरू दुख्नु, जोर्नीमा सकस र टाउको दुख्ने यसका मुख्य लक्षण हुन्। यस्तै, आँखाको दुखाइ, उज्यालोमा हेर्न समस्या, वान्ता हुने, चक्कर लाग्ने र पेट दुख्ने पनि यसका लक्षण हुन्।
यसलाई स्लोथ फिभर पनि नाम दिइएको छ। शुरुमा दक्षिण अमेरिकाको अमेजन जंगल आसपास देखिएको ओरोपोच भाइरस अन्य महादेशमा पनि धमाधम फैलिरहेको छ। सन् २०२३ को अन्तिमतिर यसमा जेनेटिक प्रभाव देखियो। त्यसयता यसको फैलावट बढेको पाइएको छ।
यो लामखुट्टे र मिज नाम दिइएको कीराको टोकाइबाट मानिसमा सर्छ। हालै दक्षिण अमेरिकी मुलुक क्युबामा ओरोपोच भाइरस तीव्र गतिमा फैलिएको छ। यसको संक्रमणमा आएका मानिसमा इन्सेफ्लाइटिस र मेनिन्जाइटिसको पनि समस्या देखिएको छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यसका लक्षण संक्रमण भएको ३ देखि १० दिनपछि मात्र देखिन थाल्छन्। र, ३ देखि ६ दिनसम्म लगातार सताउँछन्।
यसबाट संक्रमित रोगीहरूमा केही दिन र सातापछि फेरि लक्षण देखिन सक्छ। गर्भवतीहरूमा यसको संक्रमण जोखिमपूर्ण हुन्छ। गर्भपात, गर्भमै शिशुको मृत्युलगायत समस्या निम्त्याउँछ। गर्भावस्थामा शिशुको मस्तिष्कको आकार बढ्न दिँदैन। र, शिशुको मस्तिष्क सामान्यभन्दा सानो आकारको हुन सक्छ।
ओरोपोच भाइरस संक्रमणको उपचारका लागि कुनै एन्टी-भाइरल औषधि उपलब्ध छैन। यससँग मिल्दोजुल्दो संक्रमणको निदानका लागि प्रयोग हुने औषधि नै यसका लागि पनि प्रयोग गर्ने गरिएको छ। एसिटामिनोफेन त्यसमध्ये एउटा हो। तर, एस्पिरिन, इबुप्रोफेनजस्ता औषधि प्रयोग नगर्ने चिकित्सकहरूले सल्लाह दिँदै आएका छन्।
यो भाइरस हाउलर प्रजातिका बाँदरमा देखिएको थियो। सन् १९६० मै ब्राजिलमा पहेंलो घाँटी हुने स्लोथमा यो भाइरस पाइएको थियो। स्लोथ दक्षिण र मध्य अमेरिकामा पाइने एक शाकाहारी स्तनधारी प्राणी हो। सोही कारण यसलाई स्लोथ फिभर नाम दिइएको हो।
यसबाट बच्ने एक मात्र उपाय बग नामक कीराको टोकाइबाट बच्नु हो। त्यसका लागि घरमा कीट-विनाशक औषधि छर्किन सकिन्छ। शरीर ढाक्ने कपडा लगाउने, लामो पाइन्ट, बाहुलावाला सर्ट र मोजा लगाउनुपर्छ। घर आसपास र घरभित्र पनि लामो समय पानी जम्न नदिएर पनि उक्त कीराबाट टाढा रहन सकिन्छ। राति सुत्दा अनिवार्य झुल टाँग्नुपर्छ।