अमेरिकी राष्ट्रपति जो बाइडेनका शीर्ष आर्थिक सल्लाहकारका अनुसार अमेरिकाले भारतलाई रुससँग नजिक नहुन चेतावनी दिएको छ। रुसले युक्रेनमा अतिक्रमण शुरु गरेपछि नयाँदिल्लीका केही कदमबाट अमेरिकी अधिकारी ‘असन्तुष्ट’ रहेको पनि ती सल्लाहकारले बताए।
भारतले रुससँग ‘रणनीतिक गठबन्धन’ विकास गरे भने ‘गम्भीर तथा दीर्घकालीन’ परिणाम भोग्नुपर्ने ह्वाइट हाउस नेसनल इकानोमिक काउन्सिलका निर्देशक ब्रायन डिजले बताए। क्रिस्चियन साइन्स मोनिटरले आयोजना गरेको ब्रेकफास्टमा पत्रकारहरूसँग कुरा गर्दै डिजले यस्तो टिप्पणी गरेका हुन्।
युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि अमेरिका, युरोप, अस्ट्रेलिया र जापानले प्रतिबन्ध लगाएका छन्। भारतले भने पश्चिमी दबाबका बावजुद रुसी कदमको विरोध पनि गरेको छैन। उल्टो उसले रुसी तेल सस्तोमा खरिद गर्ने प्रयास गरिरहेको छ।
एसिया तथा प्रशान्त क्षेत्रमा चीनको विस्तार रोक्न अमेरिकाले भारतलाई महत्त्वपूर्ण साझेदार ठानेको छ। तर, रुसी कदमलाई लिएर दुई मुलुकको दृष्टिकोण निकै अलग देखिएको छ।
युक्रेनमाथिको आक्रमणविरुद्ध भारतको नरम शैलीका कारण वासिङ्टन र भारतबीचको सम्बन्धमा चिसो पसेको छ। डिजको टिप्पणी अमेरिकी सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार दलिप सिंहको भारत भ्रमणपछि आएको छ।
‘दलिपले भारत भ्रमणमा उनका समकक्षीलाई रुसी इन्धन र अन्य सामग्रीको आयात वृद्धि गर्नु भारतको हितमा नहेको स्पष्ट बताएका छन्,’ ह्वाइट हाउसकी प्रेस सल्लाहकार जेन साकीले दलिपको भ्रमणपछि पत्रकारहरूलाई भनेकी थिइन्।
भारतले अहिले रुसी तेल सस्तोमा किन्ने प्रयास गरिरहेको छ। त्यस अतिरिक्त भारत रुसी हतियारको सबैभन्दा ठूलो खरिदकर्ता पनि हो। रुससँगको सम्बन्ध तोड्न शक्तिबाट दबाब खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरूसँग रुसी हतियारको विकल्प नभएको प्रतिक्रिया दिएका छन्।
आफ्नो मुलुकको दुई दिशामा पाकिस्तान र चीनबाट खतरा रहेको र भौगोलिक सुरक्षाको लागि आफूहरूलाई रुसी हतियार आवश्यक रहेको मोदीले जोड दिने गरेका छन्। भारतको लागि रुसी हतियारको विकल्प निक्कै महंगो पर्ने पनि भारत सरकारको तर्क छ।