एमालेले स्थानीय निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको हो । निर्देशनअनुसार वडा र पालिका कमिटीको बैठकबाट देशैभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया सुरु भइसकेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ‘देशैभर धमाधम तल्लो तहमा पार्टी कमिटीका बैठक बसेर माथिल्लो कमिटीमा उम्मेदवार सिफारिस गर्ने प्रक्रिया सुरु भइसकेको छ,’ अधिकारीले भने, ‘त्यसक्रममा कतिपय वडामा सर्वसम्मत उम्मेदवार छनोट भएका छन । केन्द्रीय कार्यालयमा जिल्ला र प्रदेशले बैठक बसेर रिपोर्ट पठाउन बाँकी छ ।’
उनले अबको डेढ साताभित्र धेरैजसो स्थानीय तहमा पार्टीले उम्मेदवार छनोट गरिसक्ने जानकारी दिए ।
गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने, निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनोटसम्बन्धी मापदण्ड छ । यस्तो सिफारिसको अन्तिम मिति आगामी ३० चैतसम्मका लागि तोकिएको छ ।
महानगर र उपमहानगरका उम्मेदवार छनोट केही ढिलाइ हुने उनको भनाइ छ । महानगर र उपमहानगरका प्रमुख, उपप्रमुखहरूको उम्मेदवार चयन भने सम्बन्धित कमिटीको सिफारिस, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीबाट गर्ने एमालेको पछिल्लो निर्णय छ ।
अध्यक्ष केपी ओलीले स्थानीय तहको उम्मेदवार छनोटका ६ वटा आधारसहितको अन्तरपार्टी निर्देशन जारी गरेका थिए । जसअनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्न निर्देशन गरिएको छ ।