बर्लिन- जर्मनीका एक ६० वर्षीय पुरुष कोभिड-१९ विरुद्धको ९० डोज खोप लगाएको आरोपमा पक्राउ परेका छन्।
खोप लगाउन नचाहने तर विभिन्न प्रयोजनमा आवश्यक हुने खोप कार्ड खोजिरहेका मानिसहरूका नाममा ती व्यक्तिले खोप लगाउने गरेको प्रहरीले बताएको छ।
जर्मनीको पूर्वी शहर मघदेवर्गमा बसोबास गर्ने ती व्यक्तिको नाम भने जर्मनीको गोपनीयतासम्बन्धी कानूनअनुसार खुलासा गरिएको छैन । ती व्यक्तिले पक्राउ पर्नुअघि महिनौंसम्म स्याक्सोनीका खोप केन्द्रमा कोभिडविरुद्ध खोप लगाएको पाइएको छ।
प्रहरीका अनुसार आरोपीलाई बिनाअधिकार खोप कार्ड अरूलाई बाँडेको र जाली कागजात बनाएको मुद्दामा अनुसन्धान भइरहेको छ। लगातार दोस्रो दिन खोप लगाउन पुगेपछि ती व्यक्तिमाथि अधिकारीहरू शंका गरेका थिए।
जर्मनीले पछिल्लो समय जाली खोप कार्डलाई लिएर अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धानको क्रममा ती व्यक्तिसँग कैयौं खाली कार्ड बरामद गरेको छ। जर्मनीमा खोप लगाएपछि खोप कार्डमा खोपको ब्याच नम्बर राख्ने गरिन्छ।
फरक-फरक ब्रान्डका ९० डोज खोप लगाएका ती व्यक्तिको स्वास्थ्यमा कस्तो असर देखिएको भन्ने स्पष्ट भइनसकेको प्रहरीले बताएको छ।