काठमाडौं- मुटु रोग बालबालिकामा पनि हुन्छ भन्ने चेतनाको अभाव अनि रोग पहिचान गर्ने र उपचारमा दक्ष जनशक्ति एवं अस्पतालको अभावका कारण यसले बालबालिकाको ज्यानसमेत लिने गरेको छ।
समाजमा अझै मुटु रोग धनी, मोटा, पाका व्यक्तिहरूलाई मात्र हुन्छ भन्ने भ्रम छ। तर, बालबालिकालाई पनि मुटु रोग हुन्छ भन्नेबारे अझै धेरै अनभिज्ञ छन्। केही समययता बालबालिकामा मुटु रोग बढ्दो छ। प्रत्येक एक हजार जीवित नवजात शिशुमध्ये ८ देखि १० जनामा जन्मजात मुटु रोग हुने विभिन्न अध्ययनले देखाएका छन्।
नेपालमा पनि विगतभन्दा बालबालिकामा हुने मुटु रोगको प्रकोप बढ्दै गएको छ। बालबालिकामा दुई किसिमको मुटु रोग हुन्छ। पहिलो- जन्मजातै हुने मुटु रोग र दोस्रो- जन्मपछि हुने मुटु रोग।
जन्मजातै बालबालिकामा मुटु रोग हुनुका विभिन्न कारण हुन्छन्। तीमध्ये एक कारण आमा पनि हुन्। शिशु गर्भमा रहँदा आमालाई कुनै किसिमको भाइरल इन्फेक्सन भयो या आमाले धुम्रपान, मद्यपानलगायत विभिन्न औषधिको सेवन गरेमा बच्चा जन्मिनु अगावै मुटु रोग देखापर्न सक्छ। त्यसका अतिरिक्त बच्चाको जिनमा समस्या आयो भने बालबालिकामा मुटु रोग देखापर्छ।
जन्मजात मुटु रोगमा बालबालिकाको मुटुको माथिल्ला दुई कोठाबीचको भित्तामा प्वाल हुने वा पल्मोनरी भल्ब साँघुरो हुने समस्या देखापर्छ।
अर्कोे हो, बालबालिकामा जन्मपछि देखिने मुटु रोग। जसलाई मुटुको बाथ रोग पनि भनिन्छ। बालबालिका जन्मिसकेपछि धेरैजसोको घाँटीमा इन्फेक्सन हुन्छ। इन्फेक्सन विभिन्न ब्याक्टेरियाका कारण हुन सक्छ। तर, चेफ्टोफोकस नामक ब्याक्टेरियाको कारणले बालबालिकाको घाँटीमा इन्फेक्सन भयो भने रोग प्रतिरोधात्मक शक्ति अर्थात एन्टी बडीले त्यसविरुद्ध काम गर्छ। र, सोही एन्टी बडीले उक्त ब्याक्टेरियालाई निर्मुल पारिदिन्छ।
तर, कहिलेकाहीं त्यो एन्टी बडीले क्रस रियाक्ट गर्छ। त्यस क्रममा मुटुको भल्भ, ब्रेन र घुँडाको जोर्नीका टिस्युसँग क्रस रियाक्ट गरेर आफ्नै शरीरलाई घातक बनाउँछ। एन्टी बडीले क्रस रियाक्ट गर्यो भने बालबालिकामा बाथ मुटु रोग देखापर्न थाल्छ।
बालबालिकामा देखिने दुवै किसिमका मुटु रोग उत्तिकै खतरनाक छन्। तर, उपचारपछि दुवै किसिमको मुटु रोगलाई निको पार्न सकिन्छ। बालबालिकामा हुने मुटु रोगलाई पनि कार्डियोभास्कुलर पद्धतिद्वारा अप्रेसन गरी उपचार गर्न सकिन्छ भने कतिपय केसमा औषधिबाट पनि निको पार्न सकिन्छ।
जन्मपछि हुने मुटु रोगलाई पनि विभिन्न औषधि खुवाएर उपचार गरिन्छ। तर, रोग जटिल अवस्थामा पुगिसकेपछि भने कहिलेकाहीं मुटुको भल्ब नै परिवर्तन गर्नुपर्छ। भल्ब नै परिवर्तन नगरिएमा मुटु सुन्निएर हृदयाघात हुन सक्छ। त्यसैले त्यो अवस्था आउनु अगावै अप्रेसनद्वारा मुटुको भल्भ परिवर्तन गर्नु अत्यावश्यक हुन्छ।
यसको मतलव मुटु रोग देखिएका सबै बालबालिकाको अप्रेसन गर्नुपर्छ भन्ने होइन। प्रायः धेरै बालबालिकामा औषधिमार्फत नै यसलाई नियन्त्रण गर्न सकिन्छ। तर, औषधिबाट कन्ट्रोल सम्भव हुने केसहरूमा पनि बिरामीले औषधि नखाएर लापरवाही गर्यो भने शल्यक्रिया विधि अपनाउनुपर्छ।
जन्मजात हुने मुटु रोगमा सर्जिकल अप्रेसन गरिसकेपछि धेरैजसो केसमा बाचुन्जेल औषधि खानु पर्दैन। यस्तै, जन्मपछि देखापर्ने मुटु रोगमा पनि रोगको अवस्था हेरी क्राइटेरिया तोकिएको छ। कसैलाई ५, कसैलाई २० र कसै-कसैलाई ३०-४० वर्षको उमेरसम्म पनि औषधि खानुपर्ने हुन सक्छ।
अप्रेसनमार्फत मुटुको भल्भ परिवर्तन गर्दा पनि कसै-कसैलाई आजीवन औषधि चलाउनुपर्ने हुन सक्छ। अपे्रसनमार्फत भल्भ परिवर्तन नगरी मुटुको अवस्थालाई नियन्त्रणमा राख्नुपर्यो भने त्यो अवस्थामा पनि जिन्दगीभरि नै औषधि खानुपर्ने हुन सक्छ।
अस्पतालमा आएका बिरामीहरूलाई आधार मान्दा नेपालमा बालबालिकामा दुवै किसिमको मुटु रोग उस्तै-उस्तै अनुपातमा रहेको देखिन्छ।
(बी एन्ड बी अस्पतालका सिनियर कन्सलट्यान्ट कार्डियोलोजी डा. श्रेष्ठसँग कुराकानीमा आधारित)