काठमाडौं- लगातारको सत्ता यात्राले निरंकुश बनेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई आफ्नै कार्यशैलीले देश नै छोड्नुपर्ने परिस्थितिमा पुर्याएपछि उनको शासनकालको पक्ष र विपक्षमा बहस शुरु भएका छन्। कतिपयले उनको शासनकाललाई सकारात्मक तानाशाही शासनको संज्ञा दिएका छन् भने कतिले निरंकुश।
बंगलादेशको विकासमा प्रमुख भूमिका वहन गरेकी हसिनाको शासनशैली भने तानाशाही बनिरहेको भन्दै आलोचना भइरहेको थियो। गत जनवरीमा सम्पन्न निर्वाचनमा विपक्षी दलमाथि धरपकड र प्रतिबन्ध नै लगाएर नतिजा एकतर्फी बनाएपछि उनको कार्यशैलीप्रति जनआक्रोश झनै चुलियो।
बंगलादेशमा कोटाविरोधी विद्यार्थीको आन्दोलन सर्वोच्च अदालतबाट कोटा खारेज हुँदासमेत रोकिएन। प्रधानमन्त्री हसिनाको शासनशैलीबाट आक्रान्त जनता उनको बहिगर्मनमा केन्द्रित भए। प्रहरीलाई जनतामाथि गोली बर्साउन दबाब दिएकी थिइन्। व्यापक दमनका बावजुद ५ अगस्तमा प्रदर्शनकारी हसिनाको सरकारी निवासतर्फ अगाडि बढेपछि राजीनामा दिएर देश छोड्न बाध्य भइन्।
प्रदर्शनकारी उनको सरकारी निवासतर्फ अगाडि बढेपछि सेनाले रोक्न असमर्थ रहेको जानकारी गराएको थियो। सेनाले हसिनालाई देश छोड्न ४५ मिनटको समय दिएपछि उनी राजीनामा दिन बाध्य भएकी थिइन्। यदि उनले समयमै देश नछाडेको भए ४९ वर्षअघि उनको परिवारले भोगेको नियति दोहोरिने सम्भावना थियो। १५ अगस्त १९७५ मा हसिनाका पिता शेख मुजिबुर रहमानसहित आमा र तीन दाजुभाइको सेनाले क्रुर हत्या गरेको थियो। संयोगवश, हसिना र उनकी बहिनी मात्र सामूहिक हत्याकाण्डबाट बच्न सफल भएका थिए।
देशमा अशान्ति मच्चाएर भागिन् हसिना
हसिनाले राजीनामा दिएर देश छोडेपछि पनि प्रदर्शन रोकिएको छैन। प्रदर्शनकारीले प्रहरी चौकीमाथि निशाना बनाएका छन्। ४०० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण भए।
‘बंगलादेश प्रहरी सेवा संघ’ले प्रहरीको जीवन रक्षाको माग गर्दै त्यसको सुनिश्चितता नभएसम्म हडतालमा रहने घोषणा गर्नुपर्यो। बीपीएसए बंगलादेशको प्रहरी हवल्दारदेखि इन्स्पेक्टरसम्मको संगठन हो। उसले प्रहरीलाई खलनायकको रूपमा देखाइएकामा चिन्ता व्यक्त गर्दै त्यसको जिम्मेवार माथिका उच्च अधिकारीहरू भएको दाबी गरेको छ।
प्रहरीले चाहेर नभई बाध्यतावस आन्दोलनकारीमाथि गोली चलाउनुपरेको दाबी गर्दै संघले उच्च अधिकारीहरूको आदेश पालना गर्नुको विकल्प नभएको बताएको छ। संघको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले निर्दोष विद्यार्थीहरूलाई जे गरेको छ, त्यसका लागि हामी माफी माग्न चाहन्छौं।’
प्रहरीले आफूहरू आन्दोलनप्रति हदैसम्म बफादार रहेको तर आन्दोलनकारीहरूले बदलाको भावनाले प्रहरीमाथि आक्रमण गरेकामा चिन्ता व्यक्त गरेको छ। आन्दोलन शुरु भएयता ४१३ भन्दा बढीको मृत्यु भइसकेको समाचार संस्था एपीले उल्लेख गरेको छ।
आन्दोलनकारीको निशानामा पार्टीका नेता
हसिनाले देश छोडेपछि प्रदर्शनकारीले उनको पार्टी अवामी लिगका नेता-कार्यकर्तामाथि निशाना साँध्न थालेका छन्। उनीहरूको सम्पत्ति र ज्यानमाथि भौतिक आक्रमण शुरु गरेका छन्। नेता-कार्यकर्ताको दर्दनाक हत्या र उनीहरूका घरमा आगजनीका घटना बढेका छन्।
हसिनाले देश छोडेपछि अवामी लिगका २९ नेता र तिनका सन्तानको शव फेला परेको छ। नेताहरूमाथि आक्रमण गर्दा परिवारका सदस्यहरू पनि मारिएको हुन सक्ने बंगलादेशी मिडियाले उल्लेख गरेका छन्। कतिलाई अपहरणपछि हत्या गरिएको छ भने कतिपयलाई घरमै थुनेर आगो लगाइएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
गत मंगलबार मात्र अवामी लिगका जिल्ला महासचिवको स्वामित्त्वमा रहेको होटलमा प्रदर्शनकारीले आगजनी गर्दा २४ जना मारिएका थिए। प्रदर्शनकारीले अग्नि नियन्त्रकलाई समेत होटल पुग्न नदिएपछि आगलागी नियन्त्रणमा समस्या भएको थियो। उद्धार टोलीले १२ घण्टापछि आगो नियन्त्रणमा लिएको बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’ले जनाएको छ।
हसिना सरकारका मन्त्रीहरू पनि धमाधम देश छोड्न थालेका छन्। केही पूर्वमन्त्रीहरू देश छोडेर भाग्ने क्रममा पक्राउ परेका छन्। हसिनाले देश नछाड्दै पूर्व कानून-न्यायमन्त्री अनिसुल हक देश छाडेर भागिसकेका थिए। उनको अवस्था अज्ञात छ। यस्तै, आवामी लिगका महासचिव तथा सडक परिवहन मन्त्री अब्दुल क्वादर पनि आइतबार नै देश छाडेर भागेका थिए।
गत मंगलबार पूर्वविदेशमन्त्री तथा अवामी लिगका सह-महासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरी सेनाको जिम्मा लगाएको थियो। उनी भारत भाग्ने तयारीमा थिए। यसअघि पूर्व सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पनि देश छोड्नै लाग्दा विमानस्थलबाट पक्राउ परेका थिए।
राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद विघटन गरी विद्यार्थी नेताहरूको सिफारिसमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका थिए।
कस्तो थियो हसिनाको शासनकाल ?
सन् १९९६ देखि २००१ सम्म पहिलो कार्यकाल र २००९ देखि ५ अगस्त २०२४ सम्म लगातार सत्तामा रहेकी हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकास गज्जबको थियो। उनले बंगलादेशलाई विश्व आर्थिक मञ्चमा पुर्याउन ठूलो भूमिका वहन गरिन्। अस्थिर राजनीतिक परिवेशबाट गुज्रिरहेको बंगलादेशमा हसिनाकै शासनपछि स्थिरता आएको विज्ञहरू बताउँछन्। इस्लामिक चरमपन्थी गतिविधि नियन्त्रणमा निर्णायक रहेकी हसिनाको संसारभरबाट प्रशंसा भएको थियो।
बंगलादेशको अर्थतन्त्र सुधारका क्षेत्रमा काम गरेकी हसिनाले विश्व बैंकलगायत विश्वभरका लगानीकर्ताको विश्वास जितेकी थिइन्। विकास साझेदारहरूबाट अर्बौं डलर भित्र्याउन सफल पनि भयो, बंगलादेश। उनको कार्यकालमा ठूल-ठूला पूर्वाधार परियोजनाहरू अघि बढे।
सन् २००९ देखि २०१३ को बीचमा बंगलादेशको अर्थतन्त्र औसत ६ प्रतिशतले वृद्धि भएको थियो। र, गरिबी घटेको थियो। पाकिस्तानबाट छुट्टिँदा विश्वकै गरिब मुलुक बंगलादेशले सन् २०२० मा प्रतिव्यक्ति आयमा भारतलाई समेत उछिनेर संसारभरका हेडलाइनमा छाएको थियो।
तर, उनको शासनकालमा पुँजीपति वर्गले मात्र फाइदा लिएको, धनीहरू झन धनी बन्दा सामान्य जनताको हैसियत भने बढ्दो महँगीको सामना गर्न सक्नेसमेत बन्न नसकेको आलोचना हुने गरेका छन्। उनको सरकार र पार्टीका नेता-कार्यकर्ता तथा सहयोगीहरूको भ्रष्टाचारका रिपोर्टहरू बाहिरिन थालेपछि लोकप्रिय हसिना सरकार अलोकप्रिय बन्न थाल्यो।
देशमा बेरोजगारी दर बढ्दै जाँदा सरकारले युवाशक्तिलाई वैदेशिक रोजगारीमा पठाएर रेमिट्यान्समा रमाएको भन्दै जनतामा असन्तुष्टि चुलिइरहेको थियो। स्वदेशमा रोजगारीबाट वञ्चित युवा असमान आरक्षणविरुद्ध जुट्दै थिए। बेला-बेला कोटाबाट कम आवेदन पर्दा कोटा खाली रहने तर खुला लडेकाहरू हिस्सिने अवस्थासमेत सिर्जना हुने गरेको थियो, जसबाट आक्रान्त युवाले देशव्यापी आन्दोलन छेडेका थिए।
लगातारको सत्तारोहणले बनायो निरंकुश !
हसिना देश छोडेर भागेपछि मानवअधिकारकर्मी तथा लेखिका तस्लिमा नसरिनले भनिन्, ‘जुन इस्लामवादीहरूलाई खुशी पार्न हसिनाले मलाई मेरो देशबाट निकालेकी थिइन्। आज उनै हसिनालाई त्यही इस्लामवादीहरू ‘जो विद्यार्थी आन्दोलनमा छन्’ ले देश छाड्न बाध्य पारिदिए।’ नसरिन तिनै लेखिका हुन्, जसलाई उनको पुस्तक ‘लज्जा’विरुद्ध विरोध प्रदर्शन भएपछि देश निकाला गरिएको थियो।
जब लगातार निर्वाचन जित्दै हसिनाको कार्यकाल बढ्दै गयो, उनमा निरंकुशताको पारो पनि चढ्दै गयो। सुरक्षा संयन्त्रसम्म आफ्नै वरिपरि भएपछि हसिनामा मनपरीतन्त्र बढ्न थाल्यो। विस्तारै उनी तानाशाही बाटोमा लागिन्। उनी आफ्नो कार्यकालभर मानवअधिकार उल्लंघन, हत्या र बेपत्ताका घटना बढेको भन्दै विश्व समुदायको निरन्तर आलोचनामा परिन्। बंगलादेशमा पत्रकार र विपक्षमा आवाज उठाउनेहरूको गैरन्यायिक हिरासत, हत्या र बेपत्ताका घटना सामान्यजस्तै बन्न थालिसकेका थिए।
सरकार र पार्टीका नेताहरूको भ्रष्टाचारका रिपोर्टहरू बाहिरिनु र सरकार संरक्षणमा लाग्नुले हसिनको लोकप्रियता घट्दै गयो। निर्वाचनमा धाँधली गरेको भन्दै उनको सरकारमाथि विश्व समुदायले बारम्बार प्रश्नहरू उठाइरहन्थ्यो। गत जनवरीमा सम्पन्न निर्वाचनमा विपक्षी दलहरूमाथि धरपकड र प्रतिबन्ध लगाउँदै नतिजा आफ्नो पक्षमा पारेपछि उनीविरुद्ध जनआक्रोश बढ्न थाल्यो।
सत्ताको बलमा थुनिएको असन्तुष्टिका आवाजहरू विद्यार्थी आन्दोलनका नाममा एकाएक विस्फोट भयो। र, बंगलादेशको भविष्य बनेर उदाएको हसिना युग तानाशाहीको बिल्ला भिरेर अन्त्य भयो।
के हो ‘सकारात्मक तानाशाही’ शासन ?
हाल प्रजातान्त्रिक मुलुकहरूमा निर्वाचनबाट आएका शासकहरूमा पनि सत्ता मोहको कारण सत्तामै टिकिरहने आकांक्षा बढिरहेको छ। यस्तोमा उनीहरू कुनै पक्षलाई रिझाएर हुन्छ कि विपक्षी आवाजहरू दबाएर, अनेक तिकडम अपनाएर आफ्नो शासन टिकाइरहन चाहन्छन्, जसलाई आलोचकले तानाशाही शैली भन्ने गरेका छन्। समर्थकहरू भने देशको अहितमा काम गर्ने शक्तिलाई दबाएर देश र श्रमिक वर्गको हितमा काम गरेको भन्दै सकारात्मक तानाशाहको उपमा दिन्छन्।
राजनीतिक विश्लेषक हरि रोका ‘सकारात्मक तानाशाही’ भन्ने प्रचलनमा नभएको बताउँछन्। तर, त्यसको अर्थ लोकतान्त्रिक पद्धतिबाट आएका शासकले शासनमा एक खालको तानाशाही शैली अपनाउन खोज्नु त्यसको एक उदाहरण भएको उनी बताउँछन्। भन्छन्, ‘लोकतान्त्रिक निर्वाचन पद्धतिबाट चुनाव जितेपछि एक खालको तानाशाही शासनशैली खडा गरेको वा गर्न खोजेको भन्न खोजेको हुनुपर्छ।’
हसिनाको सरकार सकारात्मक तानाशाही कि निरंकुश ?
करिब डेढ दशक बंगलादेशमा एकछत्र शासन गरेकी हसिनाको बहिर्गमनसँगै उनको शासनशैलीलाई लिएर टीका-टिप्पणी हुन थालेका छन्। कतिले उनले बंगलादेशको विकासमा महत्त्वपूर्ण भूमिका वहन गरेको भन्दै उनको निरंकुश शासनशैलीलाई तानाशाही शैली नभनेर सकारात्मक तानाशाहको उपमा दिएका छन्। कतिपयले उनमा निरंकुश तानाशाही शैली हावी भएको बताएका छन्।
राजनीतिक विश्लेषक रोका भन्छन्, ‘उनले ट्याकल गर्नुपर्ने राजनीतिक पार्टीहरूमाथि पनि बक्रदृष्टि राखिन्। असहिष्णुता व्यापक रह्यो। त्यसले पनि उनमा निरंकुशता हावी भएको बुझ्न सकिन्छ।’
उनका अनुसार हसिनाले पछिल्लो कार्यकालमा शक्ति केन्द्रीकृत गर्दै पावर आफूमा केन्द्रित गरेकी थिइन्। व्यक्तिमा पावर केन्द्रित हुनु भनेको तानाशाही हावी हुनु हो। ‘विकास नभएको त होइन। उत्पादकत्व पनि बढेको थियो। तर, सम्पत्ति सीमित व्यक्तिहरूको हातमा मात्रै बढी भयो। धनाढ्य र गरिबबीचको खाडल विशाल बनेको थियो। हसिनाको सत्ता अन्त्य हुनुको एउटा कारण त्यही नै हो।’
भन्छन्, ‘उनले आसेपासेको एउटा वर्ग बनाएकी थिइन्। आर्मीका एलिटहरू, ब्युरोक्रेसी, न्यायाधीशहरूको ठूलो टिम, चाकडीबाजको जत्था, उद्योगपति, व्यापारी, आफ्ना पक्षका बुद्धिजीवीहरू, बैंकर्सहरूमा पावर र पैसा केन्द्रित भइरहेको थियो। सम्पत्ति र राजकीय शक्ति केन्द्रित गरिएको थियो।’
पुँजीपति वर्गहरू नै नजिक भएकाले उनी आम मानिसको धरातलमा पुग्न सकिनन्। त्यसैले उनलाई जनताले पुँजीपति वर्गको नेताको रूपमा हेर्न थालेको विश्लेषक रोका बताउँछन्। त्यसविरुद्ध आन्दोलन छेडियो। तर, उनले त्यसलाई नियन्त्रण गर्न सेना, प्रहरी त छँदै थिए, पार्टीका भिजिलान्ते पनि प्रयोग गरिन्। त्यसले उनीविरुद्ध झन संघर्ष गर्न प्रेरित गरेको रोकाको भनाइ छ।
‘आम मानिसको जीवन कसरी चलिरहेको छ, न्यायोचित वितरण भएको छ कि छैन भन्ने धरातलमा उनी पुगिनन्। कर उठाएको छ, व्यवस्थित वितरण भयो कि भएन भनेर लेखाजोखा छैन,’ रोका भन्छन्, ‘शिक्षित युवालाई कोटा सिस्टमले बेरोजगार बनाइदियो। अनि कति सहन्छन् त जनताले? निश्चित मान्छेको हातमा सम्पत्ति र शक्ति केन्द्रित भएपछि त्यसविरुद्ध विद्रोह गर्नु अस्वाभाविक हुँदैन।’
के होला बंगलादेशको भविष्य ?
बंगलादेशमा यो अवस्था आउनुमा हसिनाको कार्यशैली नै जिम्मेवार रहेको विश्लेषक रोकाको बुझाइ छ। सशक्त शक्ति पनि नभएको र नाम मात्रका विपक्षीहरू भए पनि हसिनाको अत्याचार र निरंकुश कार्यशैलीले जनता जागेको उनी बताउँछन्।
भन्छन्, ‘२००९ पछिका निर्वाचनमा उनले धाँधली नै गरिन्। अरूलाई उठ्नै नसक्ने वातावरण बनाइन्। प्रतिपक्षी नेताहरूलाई जेल हालिन्। दुःख दिइन्। असन्तुष्टि त सबैमा थियो। तर, विद्यार्थी बाहिर आए। आम मान्छेले साथ दिए।’
विद्यार्थीहरूले परिवर्तन ल्याए पनि उनीहरू राजनीतिक रूपले सचेत नभएकाले अबको आन्दोलन अर्कैले हाइज्याक पनि गर्न सक्छन्। आन्दोलन तितरबितर पनि हुनसक्ने रोकाको आकलन छ। भन्छन्, ‘विद्यार्थीहरूले जुन परिवर्तन ल्याए, उनीहरू राजनीतिक रूपबाट सचेत छन्, संगठित छन् भन्ने पनि देखिँदैन। यस्तोमा अराजनीतिक समूहले गरेको आन्दोलन कुनै राजनीतिक शक्तिको सपोर्ट भएन भने तितरबितर पनि हुन सक्छ। अर्कैले हाइज्याक पनि गर्न सक्छ।’
सन् २०११ तिर अरब मुलुकहरूमा पनि यस्तै स्वतःस्फूर्त आन्दोलन भएको थियो। ट्युनिसियाबाट शुरु भएको आन्दोलनको प्रभाव इजिप्ट, सिरियादेखि लिबियासम्म पुगेको थियो।
‘इजिप्टमा सेनाले हाइज्याक गर्यो। लिबिया दुई भागमा विभाजित छ। ट्युनिसियामा निकै अप्ठ्यारो स्थिति छ। सिरिया युद्धको भुमरीमा छ। बंगलादेशमा पनि यस्तै हुनसक्छ,’ रोका भन्छन्।
हसिनाको सत्ता बहिर्गमनबाट यतिबेला भारत सबैभन्दा बढी दुःखी र आक्रोशित रहेको रोकाको बुझाइ छ। मोदी र हसिनामा एक्लो तानाशाह बन्ने समान प्रवृत्ति देखिएको उनी बताउँछन्।
भन्छन्, ‘भारतमा पनि मोदी आएपछि प्रजातान्त्रिक मूल्यलाई मासेर एक्लो तानाशाह बन्ने प्रवृत्ति देखियो। त्यो मोडेल हसिनामा पनि थियो। त्यसैले मोदीले हसिनाको कार्यशैलीलाई सहजै सवीकारे। बंगलादेशको यो अवस्थामा अहिले सबैभन्दा दुःखित् र आक्रोशित भारतीय सत्तारुढ पार्टी देखिन्छ।’