काठमाडौं- मिर्गौलाबाट पिसाब थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो।
शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि समस्या निम्तिन्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा समस्या भयो भने पनि संक्रमण हुन सक्छ।
पिसाब संक्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ। कुनै बच्चालाई आमाकै गर्भमा रहँदा शरीरको बनोट बिग्रेर आएको छ भने पनि असर पर्छ। पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ। पिसाब राम्ररी निख्रेको छैन वा नली साँघुरो छ भने संक्रमण हुने जोखिम धेरै हुन्छ।
पुरुषभन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने गर्छ। महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी संक्रमण पुरुषलाई कम हुन्छ। महिलामा नली सानो हुने, पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी संक्रमण छिटो हुने सम्भावना हुन्छ। महिलालाई बाहिरी संक्रमण बढी हुनुको कारणमा कुनै एक नलीमा भएको इन्फेन्सन अर्कोमा सजिलै सर्नु पनि हो।
कसरी थाहा पाउने ?
पिसाब पोल्ने, छिनछिनमा लाग्ने, चुहिने, लागेजस्तो हुँदा पनि कम मात्र निस्किने, रगत जाने, पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्ने, कोखा दुख्ने, काम ज्वरोसहित उच्च ज्वरो आउनेलगायत समस्या देखिएमा पिसाबको संक्रमण भएको हुन सक्छ।
कसरी बच्ने ?
– सरसफाइमा ध्यान दिने
– शौचालय सधैं सफा राख्ने
– महिनावारीको समयमा प्याड परिवर्तन गरिरहने
– ३-३ महिनामा पिसाबको जाँच गर्ने
– प्रशस्त पानी पिउने