काठमाडौं- स्वस्थ रहन पर्याप्त निन्द्रा अत्यावश्यक छ। जसरी निश्चित समयमा भोक लाग्छ, त्यसरी नै शरीरले निन्द्रा खोज्छ।
कसैलाई निदाउन घण्टौं लाग्छ, कोही क्षणभरमै निदाउँछन्। निन्द्रामा देखिने समस्याले स्वास्थ्यमा सीधा असर पार्छ। निन्द्रामा बर्बराउनु पनि एक प्रकारको समस्या हो।
कारण
(१) निन्द्रामा बर्बराउनुलाई मानसिक समस्यासँग जोडेर हेर्ने चलन छ, जुन गलत हो। निन्द्रामा मस्तिष्क सक्रिय रहने भएकाले झस्किने, बर्बराउने समस्या देखिन्छन्।
(२) खासगरी, मानसिक तनावका कारण निन्द्रामा झस्किने समस्या देखिन्छ। घरीघरी बर्बराउने, ब्युँझिने, डर लाग्ने, पसिनै-पसिना हुने र सास फेर्न गाह्रो हुन्छ।
(३) ठूलो दुर्घटनामा परेका, बलात्कार र हिंसाजस्ता घटनाका पीडितमा यस्तो समस्या देखिन सक्छ।
(४) मदिरा र लागूऔषध सेवनकर्तामा पनि यस्तो समस्या निम्तिन सक्छ।
(५) निन्द्रा लाग्ने औषधि लामो समयदेखि सेवन गरिरहेका व्यक्तिमा पनि निन्द्रामा समस्या हुन्छ।
यस्तो उपचार
(१) मनमा धेरै कुरा नखेलाऊँ। चिन्ता नलिऊँ, कामको बोझ घटाऊँ।
(२) राति सुत्ने र बिहान उठ्ने तालिका बनाऊँ। शयन कक्षलाई शान्त राखौं।
(३) शरीरलाई स्वस्थ राख्ने प्रयास गरौं।
(४) मदिरा र लागूऔषध सेवन नगरौं।
(५) निन्द्रा लाग्ने औषधि सेवन नगरौं। त्यति गर्दा पनि ठीक नभएमा मनोचिकित्सकको परामर्श लिऊँ।