कैलाली- क्षतिपूर्तिवापत रकम दिने सहमति भएपछि धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकको परिवार शव बुझ्न तयार भएको छ।
उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न तयार भएका हुन्।
मृतकका परिवारलाई क्षतिपूर्ति दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार गर्ने र शव पोस्टमार्टमपछि घरसम्म लैजाने खर्च अस्पतालले बेहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ।
चौधरीको मृत्युपछि आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै शुक्रबार पनि केहीबेर अस्पताल परिसरमा तनाव सिर्जना गराएका थिए।
शनिबार अस्पताल प्रशासन र आफन्त वार्तामै बसिरहेको बेला बाहिर जम्मा भएको भीडले अस्पतालमा ढुंगामुढा गरेका थिए। स्थिति तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढाबाट दुईजना प्रदर्शनकारी र केही प्रहरीसमेत घाइते भएका छन्।
ढुंगामुढाबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।