कैलाली– धनगढीको नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका छन । जण्डिसको समस्या देखिएपछि साउन ७ देखि अस्पतालमा भर्ना भएका बेलौरी नगरपालिका-२ का १७ वर्षीय नसिब चौधरीको शुक्रबार मृत्यु भएको थियो।
मृतकका आफन्तले डाक्टरको गम्भीर लापरवाहीका कारण नसिबको मृत्यु भएको बताएका छन। उपचारमा संलग्न डाक्टरले भने चौधरीले उपचारमा कुनै लापरबाही नगरेको बताएको छ।
उपचारमा संलग्न डाक्टर रामचन्द्र पौडेलले बिरामी अस्पताल आउदा नै क्रिटिकल अवस्थामा रहेको बताउदै आफन्तकै सल्लाह बमोजिम भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको बताए।
चौधरीको मृत्युपछि आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै शुक्रबार पनि केहिबेर अस्पताल परिसरमा तनावको स्थिति सृजना भएको थियो।
अहिले अस्पताल प्रशासन र आफन्त बार्तामै बसिरहेको बेला अस्पताल बाहिर जम्मा भएको भिडले अस्पतालमा ढुंगामुढा गरेका छन। स्थिति तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज र केहिशेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढाबाट केही प्रहरीसमेत घाइते भएका छन।
