काठमाडौँ । नाबालिग गायिकालाई बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ । थुनामा नबसी पुर्पक्ष गर्न पाउनु पर्ने माग गर्दै उनले हिजो मंगलबार उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।्
अभिनेता शाहको रिट आज पेसी सूचीमा चढेको हो । मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम उनले साधारण तारेखमै रिहा हुन पाउनु पर्ने माग गरेका हुन् । उक्त निवेदन बुधबार नियमित पेसी सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको हो ।
जबरजस्ती करणी गरेको देखिएपछि तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए ।
ढुंगानाले आदेशमै ‘१५ वर्षीय बालिकालाई ललाईफकाई विवाह गर्छु भनी जबरजस्ती करणी गरेको देखिन आएकाले’ भन्ने वाक्यांशको प्रयोग गर्दै शाहलाई थुनामा पठाउने आदेश गरेका थिए ।
बालिकाका बुवाको जाहेरीका आधारमा गत फागुन ११ गते तनहुँ प्रहरी र त्यसको केही दिनमा नवलपुर प्रहरीमा शाहविरुद्ध जाहेरी परेको थियो ।