१७ चैतमा नेपाली ट्राभल एजेन्सीहरूको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेट्स’ (नाट्टा)को निर्वाचन हुँदैछ।
‘पर्यटन पुनरुत्थान र एकता अबको आवश्यकता’ भन्ने मूल नाराकासाथ रमेश थापा समूहले मंगलबार काठमाडौंमा परिचयात्मक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको छ। थापा समूहमा अध्यक्षमा रमेश थापाको उम्मेदवारी छ भने वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा कुमारमणि थपलिया र सचिवमा युविका भण्डारी उम्मेदवार बनेका छन्।
यसैगरी, कोषाध्यक्षमा राजकुमार देवकोटा, सह-कोषाध्यक्षमा राजा शाक्य, कार्यसमिति सदस्यमा ढकनाथ काफ्ले, नवराज भेटुवाल, परशुराम घिमिरे, रामशोभित नायक, डेन्डी शेर्पा, महेश कोइराला, श्रद्धा जोशी र सबला भण्डारीको उम्मेदवारी छ।
नाट्टा निर्वाचन-२०२२ का लागि अध्यक्षका प्रत्यासी रमेश थापाले कोभिड महामारीपछिको पर्यटकीय पुनरुत्थान, समग्र व्यावसायिक समस्याको पहिचान, सम्बोधन र समाधानका लागि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको बताए। यस्तै, थापाले विदेशी पर्यटकलाई प्याकेज बिक्री गरी प्राप्त विदेशी मुद्राको निश्चित प्रतिशत रिबेट व्यवसायीलाई पनि दिलाउने, आन्तरिक तथा क्षेत्रीय (दक्षिण एसिया) हवाई कनेक्टिभिटी बढाउन, पेड होलिडेज शीघ्र कार्यान्वयन गर्न, मुख्य पर्यटकीय नगरहरूमा पर्यटक बस टर्मिनल र पार्किङ व्यवस्थापन, पर्यटन प्याकेज बिक्री गर्दा लाग्ने भ्याट ०७८-७९ मा छुट भएकामा त्यसलाई नियमित गराउनेलगायत कोरोना महामारीका कारण सिर्जना भएको यात्रा प्रतिबन्ध अझ खुकुलो बनाउँदै सम्पूर्ण रूपमा पुरानै लयमा फर्काउन पहल गरिने प्रतिबद्धता जनाएका छन्।