काठमाडौँ । दार्चुला नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालन पोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
आमाबुबा गुमाएका ५४ बालबालिकालाई १० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको हो । टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभूत शिक्षा सुनिश्चितता तथा पालन पोषणसम्बन्धी कार्यविधि २०७८ निर्माण गरी सहयोग रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए ।
टुहुरा बालबालिकाको गाँस, बास र कपासका साथै आधारभूत शिक्षाबाट बञ्चित हुन नदिन कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिएको उल्लेख गरे । उनले भने, ‘कानुनी जटिलताका कारण यो कार्यक्रम अघि बढाउन तीन वर्ष ढिलो भयो, कार्यविधि निर्माण भइसकेकाले अब यो कार्यक्रम निरन्तर चालु रहने छ ।’
चालु आर्थिक वर्षमा कार्यक्रम शुभारम्भ गरिएको र आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्रको सुरुमै मासिक रुपमा अभिभावकका बैंक खातामार्फत रकम भुक्तानी गर्ने तयारी गरिएको छ ।