काठमाडौं- शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो। कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ। तर, यसलाई सामान्य रूपमा लिनु हुँदैन।
कारण
(१) दुर्घटनामा चोट लागेको अवस्थामा हाड दुख्छ। त्यसले भविष्यमा समस्या निम्त्याउन सक्छ।
(२) शरीरमा क्याल्सियम र भिटामिन डीको मात्रा कम भएमा हाड दुख्छ।
(३) रक्त, स्तन, थाइराइड, फोक्सो, हाड र प्रोस्टेट क्यान्सरका कारण पनि ढाड दुख्छ। यस्तो क्यान्सर हाडमा फैलियो भने अत्यधिक दुख्छ।
(४) रगतको कमीले पनि हाडको स्वास्थ्य बिग्रिन्छ। र, हाड दुख्न थाल्छ।
(५) हाडमै हुने संक्रमणले दुखाइ बढाउँछ।
लक्षण
(१) हाडमा चोट लागेको छ भने हिँड्दा, टहलिँदा दुख्छ। हाड नै भाँचिएको छ भने मांशपेशी र तन्तुमा पनि पीडा हुन्छ।
(२) ढाड दुख्ने, शरीर चलमलाउँदा पीडा हुने, कमजोरी अनुभव हुने, निन्द्रा नलाग्ने, हाड खिइने, शरीरको एक भागको हड्डी छोटो हुँदै जाने हाडमा समस्याका लक्षण हुन्।
(३) क्यान्सरका कारण हाड खिइने, टाउको दुख्ने, हाड भाँचिने, श्वासप्रश्वासमा अवरोध, जन्डिस, छाती दुख्नेलगायत समस्या हुन्छन्।
(४) रगतको कमीले हाड दुखाइ शुरु भएको हो भने कमजोरी अनुभव हुन्छ।
(५) हाडमा कुनै संक्रमण भएमा ग्रसित भाग रातो हुँदै जान्छ।
रोकथाम
(१) नियमित शारीरिक व्यायाम।
(२) क्याल्सियम र भिटामिन डीयुक्त खाना।
(३) मद्यपान र धूम्रपानबाट टाढा बस्ने।
(४) ६-६ महिनामा स्वास्थ्य परीक्षण गर्ने।
परीक्षण र उपचार
एक्सरे, रगत परीक्षण, भिटामिन डी र क्याल्सियमको जाँचबाट हाड दुखाइको कारण पत्ता लगाइन्छ। अवस्था जटिल भएमा एमआरआई, सिटीस्क्यान, ट्युमर र बोन क्यान्सर परीक्षण गरिन्छ। पिसाब परीक्षणबाट पनि हाडमा समस्या भएको पत्ता लाग्छ।
दुखाइको अवस्थाअनुसार एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। सामान्य अवस्थामा भिटामिन, क्याल्सियमयुक्त पौष्टिक आहार खानाको नियमित सेवनबाट दुखाइ नियन्त्रण हुन्छ।