काठमाडौं- हृदयाघात मुटुको कुनै पनि धमनीमा अवरोध उत्पन्न भई मुटुको मांसपेशीले काम गर्न नसकेको अवस्था हो। रक्तचाप जति बढ्यो, मुटुका धमनीमा दबाब पर्दै जान्छ। यसबाट पनि हृदयाघातको जोखिम बढाउँछ।
चिल्लो र गुलियो बढी खानाले सुगर र कोलेस्ट्रोल बढेर हृदयाघातको सम्भावना रहन्छ। उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मोटोपन समयमै नियन्त्रण गर्नुपर्छ। नियमित व्यायाम, मानसिक तनाव नलिने, जीवनशैली तथा खानपानमा मात्रै सुधार गर्न सके हृदयाघातबाट धेरै हदसम्म बच्न सकिन्छ।
कारण
उच्च रक्तचापः उच्च रक्तचाप हृदयाघातको प्रमुख कारण मानिन्छ। स्वाभाविक रक्तचापभन्दा बढी भएमा हृदयाघात हुने जोखिम बढी हुन्छ। उच्च रक्तचाप भएका मानिसको मुटुले रगत छिटो-छिटो पम्प गर्ने हुँदा मुटुमा बढी दबाब पर्छ। उच्च रक्तचाप भएका व्यक्तिमा हृदयाघातको सम्भावना २ गुणा बढी हुन्छ।
उच्च कोलेस्टेरोलः रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै बढी हुन्छ। युवा अवस्थामा देखिने हृदयाघातको प्रमुख कारण उच्च कोलेस्टेरोल, मद्यपान तथा ध्रुमपान हो। उच्च कोलेस्टेरोल भएकालाई हृदयाघातको जोखिम ३ गुणा बढी हुन्छ।
धुम्रपानः धुमपान गर्ने व्यक्तिमा हृदयाघातको सम्भावना २ देखि ४ गुणा बढी हुने गर्छ।
मधुमेहः लामो समयदेखि मधुमेह भएका व्यक्तिमा हृदयाघातको सम्भावना झन् बढी हुन्छ। मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोलमा नियन्त्रण नगरे हृदयाघात हुने जोखिम २ देखि ३ गुणा बढी हुन्छ।
मोटोपनाः मोटोपना भएका व्यक्तिहरूको शरीरमा धेरै बोसो हुन्छ। रगत बग्ने नशामा बोसो जम्मा भएर नशा साँघुरिदै जान्छ। जसले रक्तसञ्चार प्रक्रियालाई प्रभावित पार्छ। मोटोपना र पेट ठूलो भएका मानिसमा हृदयाघातको सम्भावना बढी हुन्छ।
वंशाणुगतः परिवारमा कुनै सदस्यलाई हृदयाघात भएको छ भने पछिल्लो पिँढीलाई पनि हुने सम्भावना रहन्छ।
मदिरापानः मदिरा सेवन नियमित तथा अत्यधिक गर्ने मानिसलाई पनि हृदयाघातको सम्भवना हुन्छ।
मानसिक तनावः कुनै व्यक्तिलाई मानसिक तनाव धेरै भएको खण्डमा हृदयाघातको जोखिम उच्च हुन्छ।
लक्षण
हृदयाघात हुनुअघि यसको साधारण लक्षण देखा पर्छ। व्यायाम गर्दा, उकालो चढ्दा, भर्याङ चढ्दा, मानसिक तनाव बढ्दा छातीको बीचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचेजस्तो अनुभव हुने, स्वाँ स्वाँ बढ्ने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने तर आराम गरेपछि सञ्चो हुने हुन्छ। कहिलेकाहीं देब्रे हातमा वा च्यापूतिर पनि दुखाइ सरेको जस्तो अनुभव पनि हुन सक्छ।
उपचार
मदिरा तथा धुम्रपान त्यागः मदिरा तथा धुम्रपान गर्ने व्यक्तिले आफ्नो बानीमा परिवर्तन गर्ने।
नियमित व्यायाम गर्नेः सबैले दैनिक कम्तिमा ३० मिनट हिँड्ने, शारीरिक व्यायाम तथा योग, ध्यान गरेर शरीरलाई जति सक्यो, त्यति क्रियाशील बनाउने।
मोटोपन नियन्त्रणः मोटोपनलाई नियन्त्रण गर्न खानपान तथा शारीरिक व्यायाममा ध्यान दिने।
खानपानः सबैले नियमित खानामा हरियो सागपात, दाल र गेडागुडीको झोल तथा फलफूल खाने।
नियमित स्वास्थ्य परीक्षणः सबैले कुनै रोगको संक्रमण नभए पनि कम्तिमा वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउने।
मानसिक तनावबाट मुक्त रहनेः मानसिक तनावको कारण पत्ता लगाई यसबाट मुक्त हुन ध्यान गर्ने, परिवार तथा साथीभाइसँग समस्या सेयर गर्ने र एक्लै नबस्ने।