काठमाडौँ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम १०० ले वृद्धि भएको हो ।
फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० पुगेको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ ।
फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिए । हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उनले बताए ।
फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकाले मासुको मूल्य महँगो भएको बताए । इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।
व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको बताए । लोकल कुखुराको मासु प्रतिकिलोग्राम ७०० रुपैयाँले बिक्री गर्ने गरिएको छ ।