थारू कल्याणकारिणी सभाले ९-१० चैतमा नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनले थारू समुदायलाई उपेक्षा गरिएको आरोप लगाएको छ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत सभाले महाधिवेशनमा महासंघले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरिएको आरोप लगाइएको हो।
महासंघको सदस्य संगठनको दोस्रो जनसंख्या भएकोसभासँग कुनै छलफल नगरी एकात्मक ढंगले जातीय सामाजिक संस्थालाई राजनीतिक स्वार्थ पूर्तिका लागि राजनीतिक मञ्चको रूपमा प्रयोग गरिएको सभाको आरोप छ।
‘तराईका मुल भूमिपुत्र थारू जातिलाई उपेक्षा गर्दै बहिष्करण तथा अवमूल्यनसमेत गरी सम्पन्न गराइएको १०औं महाधिवेशनको कथित निर्वाचनको बहिष्कार गर्दै घोर भर्त्सना र विरोध गर्दछौं,’ सभाको विज्ञप्तीमा उल्लेख छ।
थारू युवा सभाका अध्यक्ष कनुलाल चौधरीले आदिवासी जनजाति महासंघको नीति, कार्यक्रम र योजना बनाउने सवालमा थारू समूदायलाई पन्छ्याउने काम गरेको भन्दै तत्काल गल्ती सच्याउन माग गरे।
थारू भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुधासेन चौधरीले आदिवासी जनजातिहरूको अधिकारका लागि आफूहरूले निरन्तर आन्दोलन गर्दै आए पनि अहिले आएर महासंघमा एकल जातिले राज्य गर्न खोजेको आरोप लगाए। सभाकी केन्द्रीय सदस्य रुक्मिनी चौधरीले नेपाल आदिवासी जनजाति महासंघ जातीय, सामाजिक वा राजनीति कुन संस्था हो भन्दै प्रश्न गरिन्।