काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त संख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो ।
जिल्लाका सबै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण संकलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । कार्यालयले निर्वाचनमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ ।
निर्वाचनमा परिचालन गर्न जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विवरण प्राप्त भएपछि निर्वाचन आयोगमा पठाइने उनले बताए । ‘आयोगबाट नामावली स्वीकृत भएर आएपछि कर्मचारी खटनपटनको काम हुन्छ,’ उनले भने ।
ती पालिकाहरूमा तीन सय केन्द्र छन् । मतदानस्थल नथपिए पनि मतदान केन्द्र थप गर्नेबारेमा छलफल भइरहेको छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लामा २३ दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यताप्राप्त छ र अन्य क्रियाशील १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।