काठमाडौँ । आज देशको प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहने भएको छ ।
‘प्रिमनसुन’को समय भएकाले पहाडी भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रिमनसुनका अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भागमा मेघगर्जन, चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसमविद्का अनुसार अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रिमनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव तीन डग्री र अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।