रुसले करिब ३००० फौज सहभागी गराउँदै देशको पूर्वी भेगस्थित जापानका समुद्री टापुमा शृंखलामा सैन्य अभ्यास शुरु गरेको छ। रुसी मिडिया एजेन्सी इन्टरफ्याक्सले यससम्बन्धमा समाचार लेखेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा शुरु भएको छ।
उक्त टापुमा रुसले पनि आफ्नो स्वामित्त्व दाबी गर्दै आएको छ। रुसले गत साता विवादित टापुको समस्या समाधान गर्न दुई देशबीच जारी वार्ता भंग गरेको घोषणा गरेको थियो। युक्रेनमाथि रुसले आक्रमण गरेपछि जापानले रुसविरुद्ध विभिन्न प्रतिबन्ध घोषणा गरेपछि त्यसको विरोधमा रुसले एकतर्फी रूपमा वार्ता भंग गरेको थियो।
विवादित टापुमा शुरु भएको सैन्य अभ्यासमा रुसका हजारौं सैन्य वाहन सहभागी भएका छन्। रुसमाथि शत्रु मुलुकले आक्रमण गरेमा कसरी प्रतिरोध गर्ने भन्ने परिदृश्यमा अभ्यास भइरहेको स्रोतले बतायो।
यही विवादित टापूमा उठेको विवादका कारण जापान र रुसले दोस्रो विश्वयुद्धपछि शान्ति सम्झौतामा हस्ताक्षर गरेनन्।
जापानले शीतयुद्धको समयमा सोभियत संघले आफ्ना चार टापूहरू कुनासिरी, इटोरोफू, सिकोन्ताक र हाबोमाई समूह जबर्जस्ती कब्जा गरेको बताउँदै आएको छ। रुसले भने ती विवादित टापुहरू आफ्नो देशको अभिन्न अंग भएको बताउँदै आएको छ। पछिल्लो सैन्य अभ्यासको खबरले आम जापानीमा रुसप्रति आक्रोश र भय सिर्जना गरेको छ।