काठमाडौं- व्रतका दौरान पूजा-आजा गर्दा कामकाजी महिलाका लागि परम्परागत पहिरन अलि झन्झटिलो हुन्छ। जसले गर्दा उनीहरू वैकल्पिक पहिरन खोजिरहेका हुन्छन्। व्रतालु महिलाले साडीको विकल्पमा लगाउन सक्ने पहिरन यस्ता छन्।
स्टाइलिस बाहुला
पहिरनको डिजाइनमा हातको बाउलाले फरक पार्छ। कतिपय पहिरनका शरीरमा लगाउने भाग साधारण भए पनि बाउलाको स्टाइल फरक-फरक हुन्छ। डबल अम्ब्रेला र बेली स्लिप भएका कुर्ती अहिले लगाउन सकिने बाहुलाका स्टाइल हुन्। यसले क्लासिक लुक्स दिन्छ।
लङ कुर्ती र लङ स्कर्ट
लङ कुर्ती र लङ स्कर्ट चलेकामध्ये अहिले धेरै महिलाले मन पराउने स्टाइल हो। यसलाई कलर कम्बिनेसन गरेर लगाउन सकिन्छ। कुर्ती हरियो, स्कट पहेँलो, रातो र कालो लगाउन सकिन्छ। वा, कुर्ती गाढा हरियो र स्कर्ट हल्का हरियो लगाउँदा पनि राम्रो देखिन्छ।
यी पहिरन विवाहित र अविवाहित दुवै महिलाका लागि उपयुक्त मानिन्छ। लङ भन्नेबित्तिकै झरी पर्दा समस्या होला भन्ने प्रश्न उठ्ला। तर, अहिले गोलीगाँठोभन्दा माथिसम्मको लम्बाइ भएको चलेको छ। पहिलाको जस्तो कुर्कुच्चा वा स्यान्डल छोपिने गरी लामो लगाउने चलन छैन। त्यसैले वर्षातमा पनि खासै समस्या हुँदैन।
अम्ब्रेला कुर्ता र पाइन्ट
अम्ब्रेला कुर्ती र पाइन्ट पछिल्लो समय आएको नयाँ स्टाइल हो। विशेषगरी, यो युवतीको रोजाइको डिजाइन बन्दै गएको छ। यद्यपि, अधबैँसे महिलाले पनि यो पहिरन लगाउन सक्छन्। किनकि, यसले जसलाई पनि स्मार्ट देखाउँछ। यसमा आफूले इच्छाएको रङ मिलाएर लगाउनसमेत सकिन्छ।
लङ वानपिस र गाउन
फेसनेबल लङ वानपिस अहिले लगाइने ड्रेस हो। यो लगाउन सहज छ। त्यसैले, सबैको रोजाइ बन्ने गरेको छ। यस्तै, अहिले पछाडि बाँध्न मिल्ने किसिमका गाउनको चलनसमेत चलेको छ। माथिबाट अलाइन वानपिस भएको बढी चल्तीमा छ। विवाहिताले सानो दुपट्टासँग लगाउँदा राम्रो देखिन्छ।
कुर्ती र जिन्स
युवती तथा किशोरीहरूले लगाउन रुचाउनेमध्ये कुर्ती र जिन्स पनि हो। कुर्तीलाई नयाँ स्टाइल दिएर लगाउन सकिन्छ। यसका बाहुला फेसनेबल बनाएर क्लासिक लुक्स दिन सकिन्छ।
साडी लगाउँदा गरगहनासमेत मिलाएर लगाउनुपर्ने हुन्छ। तर, कुर्ती लगाउँदा गरगहना लगाउने झन्झटबाट मुक्ति पाइन्छ। यस्तै, कामकाजी महिलाका लागि साडी लगाएर हिँड्न तुलनात्मक रूपमा अलि झन्झट हुने भएकाले उल्लेखित ड्रेस लगाउन उपयुक्त हुन्छ।