टोकियो- जापानमा पछिल्ला दिनमा ‘मासु खाने ब्याक्टेरिया’ फैलिएको छ। स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटीएसएस) एक दुर्लभ स्वास्थ्य समस्या हो, जो विषाक्त पदार्थ पैदा गर्ने ब्याक्टेरियल ग्रुप स्ट्रेप्टोकोकलका कारण उत्पन्न हुन्छ।
उक्त ब्याक्टेरियाले मानिसको मासु खान शुरु गर्छ र शरीरका अंगहरूलाई तीव्र गतिमा ड्यामेज गरिदिन्छ। जापानमा यस वर्ष २ जुनसम्ममा यसका १ हजार बिरामी फेला परिसकेका छन्। उक्त ब्याक्टेरियाको सम्पर्कमा आएको व्यक्तिको तत्काल उपचार नभए ४८ घण्टाभित्र मृत्युको मुखमा पुगिसकेको हुन्छ। यसबाट हुने मृत्युदर ३० प्रतिशत छ।
लक्षण
– अचानक उच्च ज्वरो आउनु
– शरीर थरथरि काँप्नु
– शरीरमा सहनै नसकिने दुखाइ हुनु
– फ्लूजस्तो लक्षण देखिनु
– वान्ता हुनु
– पातलो दिसा आउनु
– छालामा राता दाना देखिनु
– हातखुट्टाको छाला खुइलिनु
– रिंगटा लाग्ने र बेहोश हुने
– उच्च रक्तचाप अचानक बढ्नु
–आँखा र घाँटीमा रातो हुनु
छालाको कुनै चोट लागेको हिस्साबाट उक्त ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्छ। कुनै माध्यमबाट रगतको सम्पर्कमा उक्त ब्याक्टेरिया पुग्यो भने उक्त ब्याक्टेरिया ब्लड स्ट्रिममार्फत शरीरमा फैलिन्छ।
महिलाहरूमा महिनावारीको दौरान पनि उक्त ब्याक्टेरिया शरीरमा प्रवेश गर्ने खतरा रहन्छ। महिनावारीका दौरान ट्याम्पुन या कप प्रयोग गर्ने महिला सबैभन्दा बढी जोखिममा देखिएका छन्। यो ब्याक्टेरियाले बच्चादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई आक्रमण गरेको पाइएको छ। खासगरी, रोग प्रतिरोधी क्षमता कमजोर रहेका व्यक्ति यसको बढी जोखिममा हुन्छन्।
यी हुन् जोखिम समूह
– महिनावारीमा ट्याम्पुन प्रयोग गर्ने महिला
– महिनावारीमा डायफ्राम या कप प्रयोग गर्ने महिला
– कुनै प्रकारको छालाको इन्फेक्सन भएका व्यक्ति
– छालामा कुनै प्रकारको चोट लागेका व्यक्ति
– भरखरै सर्जरी गराएका व्यक्ति
– गर्भ मिसक्यारेज भएका महिला
– भरखरै आमा बनेका महिला
– मधुमेह भएका व्यक्ति
– चौबीसै घण्टा मदिरामा लठ्ठिने व्यक्ति
– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति
– ६५ वर्षभन्दा माथिको उमेर समूह
– स-साना बालबालिका
यो ब्याक्टेरिया फैलिन नदिन जापानमा घाउहरूको तत्काल उपचार गराउन सरकारले अपील नै गरेको छ। टोकियोका इन्फेक्सियस डिजिजका प्राध्यापक केन किकुचीले मानिसहरूलाई बारम्बार हात धुन, हाइजिन मेन्टेन गर्न र आफ्ना घाउको तत्काल उपचार गर्न आग्रह गरेका छन्। क्लिभल्यान्ड क्लिनिकका अनुसार यसबाट हुने मृत्युदर देशपिच्छे ३० देखि ७० प्रतिशत हुन सक्छ।
समयमै उक्त रोग पहिचान भयो भने एन्टिबायोटिक्स, लिक्विड्स र औषधिबाट सहजै उपचार गर्न सकिन्छ। त्यसबाहेक ‘जे-८’ नामक भ्याक्सिन पनि बजारमा उपलब्ध छ।
बच्ने उपाय
– महिनावारीका बेलामा ट्याम्पुनको साटो स्यानिटेरी प्याड प्रयोग गरौं
– दिनमा ट्याम्पुन आवश्यक हुन्छ भने राति सुत्दा प्याड नै प्रयोग गरौं
– ट्याम्पुन प्रयोग गर्नेहरूले हरेक ४ देखि ८ घण्टामा त्यसको सफाइ गरौं
– शरीरमा कुनै पनि प्रकारको चोट लाग्यो भने तत्काल उपचार गरौं
– बारम्बार हात धोऔं
– हाइजिन मेन्टेन राखौं