काठमाडौं- आज ११ जुन। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् २०१०- अफ्रिकामा पहिलोपटक फुटबल विश्वकप
सन् २०१० मा आजकै दिन दक्षिण अफ्रिकामा फिफा विश्वकप फुटबल उदघाटन गरिएको थियो, जुन अफ्रिका महादेशमा आयोजना भएको पहिलो विश्वकप थियो। जोहानेसबर्गमा भएको प्रतियोगिताको उपाधि स्पेनले उचालेको थियो।
– सन् १९५९- क्रिस्टोफर ककेरेलको पहिलो होभरक्राफ्ट
क्रिस्टोफर ककैरेलले निर्माण गरेको होभरक्राफ्ट आजकै दिन सार्वजनिक गरिएको थियो। उक्त प्रोटोटाइप ‘एसआरएन-१’ वाहनले त्यसको केही सातापछि इंग्लिस च्यानल पार गरेको थियो। ब्रिटेनको डोभर र फ्रान्सको केलाइसबीच उक्त होभरक्राफ्टमार्फत हुँदै आएको उडान सन् २००० मा बन्द गरियो।
– सन् १९५५- कार रेस दुर्घटनामा मारिए ८३
सन् १९५५ मा आजकै दिन भएको कार रेस दुर्घटनामा ८३ जना मारिएका थिए। फ्रान्सको ले म्यान्समा भएको दुर्घटनामा तीव्र गतिमा रहेका कार मानिसको भीडमा बज्रिएका थिए। घटनामा करिब १२० जना घाइते भएका थिए।
– सन् १९३८- जापानी फौजलाई रोक्न यल्लो नदीमा बाढी
तीव्र गतिमा अगाडि बढेको जापानी सेनालाई रोक्न चीनले यल्लो नदीमा कृत्रिम बाढी सिर्जना गरेको थियो। विस्कन्सिन विश्वविद्यालयका प्राध्यापक स्टेभन डचले त्यस घटनालाई ‘इतिहासमा पर्यावरण युद्धको संसारको सबैभन्दा ठूलो कृत्य’ संज्ञा दिएका थिए।
– सन् १८१७- साइकलको पहिलो पूर्ववर्ती सार्वजनिक
आफ्नो क्रान्तिकारी लोफमेसिनको उपयोग गर्दै जर्मनीका आविष्कारक कार्ल ड्रेइसले आजकै दिन साइकलको पूर्ववर्ती संस्करण सार्वजनिक गरेका थिए। त्यसलाई ‘ड्रेसिन’ नाम दिइएको थियो। उक्त दुई पांग्रे सवारी साधनमा पाइडल प्रयोग गरिएको थिएन। घोडाले तान्न लगाएर एक घण्टामा १४ किलोमिटर पार गरी पहिलो परीक्षण गरिएको थियो।