काठमाडौँ । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ६ मा से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो।
दुर्घटनामा सुर्नया गाउँपालिका ३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन्। माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो। चालक पाटन नगरपालिका ४ का वीरेन्द्र खत्री फरार छन्।