काठमाडौं– धनगढीका होटलहरू यतिबेला खचाखच भरिएका छन्। कुनै मेला, महोत्सव वा सेमिनारका कारण होटलहरूमा मान्छेको भीड भएको भने होईन, सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको बजेटमा आफ्ना योजना पार्न सुदूरपश्चिमका पहाडी जिल्लाहरूसंगै कैलाली र कञ्चनपुरका पालिका प्रमुखहरू, बिचौलिया र पूर्व जनप्रतिनिधिहरूको धनगढीमा भीड लागेको हो।
यो प्रकृयामा कतिपय प्रदेश सभा सदस्यहरू नै संलग्न छन्। कतिपय प्रदेश सभा सदस्यहरू भने बिचौलियाको आग्रह र दवाबका कारण हैरान छन्। बिचौलियाहरूले प्रदेश सभा सदस्यको लेटरप्याडमा योजनाहरूको सिफारिस गरिरहेका छन्।
‘लेटरप्याडमा योजना सिफारिस गरिदिनु पर्यो। म योजना पार्छु भनेर बिचौलियाहरूले लेटरप्याड मागेर हैरान गरेका छन्,’ एक प्रदेश सभा सदस्यले भने, ‘चिन्दै नचिनेका मान्छेहरू पनि लेटरप्याड मागिरहेका छन्।’
मुख्यमन्त्री दीर्घबहादुर सोडारी निकट व्यक्तिहरूले बिभिन्न क्षेत्र, व्यवसाय र भूगोलका व्यक्तिहरूलाई फोन गरेर योजना पारिदिन्छु भन्दै बोलाउने गरेको स्रोतले बतायो।
बिचौलियाहरूलाई सरकारले परिचालन गरेको स्रोतको दाबी छ। सरकारमा रहेका व्यक्तिहरूले आफू योजना बेचेको आरोपबाट जोगिने र आरोप जति प्रदेश सभा सदस्यहरूमाथि लाग्ने गरी योजना निर्माण गरिरहेका छन्।
‘बाहिरबाट हेर्दा प्रदेश सभा सदस्यहरूको सिफारिसको बजेट बिनियोजन गरेको देखिनेछ,’ प्रदेश सभा सदस्यले भने, ‘तर ती योजनाका बारेमा प्रदेश सभा सदस्यहरूलाई थाहा हुने अवस्था छैन।’
प्रदेश सरकार भने बजेटको स्रोत सुनिश्चित नभए पनि सबैलाई मिलाउने, खुशी पार्ने र बिचौलियामार्फत पैसा कमाउने उद्देश्यले बिगतमा भन्दा बजेटको आयतन बढाउने तयारीमा रहेको एक प्रदेश सभा सदस्यले बताए।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता सोडारीले डेढ महिना बित्दा पनि सरकार विस्तार गर्न सकेका छैनन।
बजेट निर्माण प्रकृया अन्तिम चरणमा पुग्दा अर्थ मन्त्रालय समेत रिक्त छ। अर्थमन्त्रालय पनि सोडारीकै मातहतमा छ। सोडारीलाई विश्वासको मत दिएपनि एमाले र माओवादी सरकारमा सहभागी भएको छैन। प्रदेश सरकारमा मुख्यमन्त्री सोडारी सहित नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुई जना मन्त्री समेत गरी तीन जना मात्र सहभागी छन्।