काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटन गर्ने भएका छन्।
यस कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा शनिबार दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ गएका छन्। कूल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको अवलोकन र न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
खिम्ती सब–स्टेसन २२०–१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो।
न्यू खिम्ती सब–स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ। यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ।