वैज्ञानिकहरूले विज्ञानको सबैभन्दा ठूलो प्याराडक्स (विरोधाभास)मध्ये एक मानिने हकिङ प्याराडक्सलाई सुल्झाएको बताएका छन्। हकिङले ब्ल्याक होलले दुई प्रमुख सिद्धान्त एकअर्कासँग सामन्जस्य नहुने गरी काम गर्ने कुरा देखाएका थिए।
तारा मरेपछि ब्ल्याक होला बन्छन्, जसको शक्तिशाली गुरुत्त्वाकर्षण बलबाट प्रकाश पनि उम्कन सक्दैन। नयाँ अनुसन्धानपछि यही ब्ल्याक होलसम्बन्धी प्याराडक्सलाई समाधान गरेको दाबी गरेका छन्। यसक्रममा उनीहरूले ब्ल्याक होलको एक नयाँ गुण पत्ता लगाएका छन्, जसलाई तिनले ‘क्वान्टम हिअर’ नाम दिएका छन्।
‘समस्या अन्ततः समाधान भएको छ,’ ससेक्स विश्वविद्यालयका प्रध्यापक जेभियर क्यालमेटले बीबीसीसँगको कुराकानीमा सन्तोषको श्वास फेर्दै भने । क्यालमेट प्याराडक्स समाधान खातिर गणितीय प्रविधि विकास गर्ने टिमको सदस्य थिए। यो प्याराडक्सको केन्द्रमा एउटा समस्या थियो, जसले भौतिकशास्त्रका दुई महत्वपूर्ण सिद्धान्तमा गम्भीर खोट देखाउने खतरा थियो।
आइन्स्टाइनको ‘जेनेरल थिओरी अफ रिलेटीभिटी’अनुसार ब्ल्याक होलभित्र गएको सूचना बाहिर आउन सक्दैन। तर, भौतिक शास्त्रको अर्को सिद्धान्त क्वान्टम मेकानिक्सले त्यस्तो हुनै नसक्ने भन्छ। यो समस्या समाधान हुने गरी प्रोफेसर क्यालमेट र उनका सहकर्मीका अनुसार तिनले ताराका आधारभूत तत्त्वले ब्ल्याक होलको गूरुत्वाकर्षण फिल्डमा छाप छाड्ने देखाएका छन्।
ती वैज्ञानिकले नै यो चिन्हलाई ‘क्वान्टम हिअर’ नाम दिएका छन्। पछिल्लो निष्कर्षले प्रिन्सट विश्वविद्यालयका प्रोफेसर जोन आर्कीबाल्ड विलरले सन् १९६० को दशकमा विकास गरेको ‘नो हेअर थिओरी’लाई विस्थापित गरेकाले यसको नाम ‘यस हिअर थिओरी’ दिइएको छ।
प्रोफेसर स्टेफन हकिङले सन् १९७० को दशकमा ब्ल्याक होलको चरित्रले भौतिकशास्त्रका सिद्धान्तबीच विरोधाभाष सिर्जना गरेको कुरामा प्रकाश पारेका थिए। उनका अनुसार जेनेरल रिलेटिभिटी वा क्वान्टम मेकानिक्समध्ये एउटा मात्र सही हुने तर्क गरेका थिए।
प्रोफेसर विलरले दिएको ‘नो हिअर थिओरी’ नामले ब्ल्याक होलको गणितीय व्याख्यालाई इंगित गर्छ। आखिरमा ब्ल्याक होल भनेको पिण्ड भएको चक्कर लगाइरहने चार्जयुक्त तत्त्व हो । तर, त्यसबाहेक ब्ल्याक होलमा अन्य भौतिक गुण हुँदैन। त्यसलाई प्रो. विलरले टाउकोको बीचमा कपाल झरेपछिको आउने अवस्थासँग तुलना गरेका थिए ।
हकिङले क्वान्टम मेकानिक्स वा जेनेरल रिलेभिटीमध्ये कुनै एउटा गलत हुने सक्ने कुरा प्रकाश पारेपछि भौतिकशास्त्रमा एक खालको डर सिर्जना भएको थियो। किनकि, आज भौतिक ब्रह्माण्डबारे विज्ञानले प्रस्तुत गरेका अधिकांश व्याख्या यिनै दुई आधारभूत सिद्धान्तमा टेकेर गरिएको छ। यीमध्ये कुनै एक गलत निस्किए अहिलेको बुझाइ नै गलत ठहरिन्छ।
प्रोफेसर क्यालमेट र उनका सहकर्मीले तयार पारेको पछिल्लो पेपरले जेनेरल रिलेटिभिटी र क्वान्टम मेकानिक्सबीचमा कायम खाडल पुर्ने प्रयास गरेको छ। क्यालमेटहरूको ‘क्वान्टम हेयर’सम्बन्धी अवधारणाले ब्ल्याक होलमा जे प्रवेश गर्छ, त्यो बाहिरिने कुरालाई भौतिकशास्त्रका दुवै महत्त्वपूर्ण सिद्धान्तको उल्लंघन नगरी व्याख्या गर्न सकिन्छ।
‘अहिलेको खोज अभूतपूर्व भएकाले यसलाई स्वीकार्न समय लाग्छ,’ क्यालमेटले भने, ‘हकिङ प्याराडक्सले जेनेरल रिलेटिभिटी र क्वान्टम मेकानिक्सबीच सामन्जस्यता नभएको देखाएको थियो तर अहिले हाम्रो अनुसन्धानले यी दुईबीच एकदम राम्रो सामन्जस्यता रहेको देखाएको छ।’
बीबीसीबाट