स्थानीय चुनावका लागि निर्वाचन आचारसंहिता
काठमाडाैँ । ३० वैशाखमा हुने स्थानीय चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आचारसंहिता तयार गरेको छ । राजपत्रमा बिहीबार प्रकाशित आचारसंहितामा आफ्नो नाममा पेस्की वा बेरुजु भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । १५ चैतदेखि आचारसंहिता लागू गर्ने आयोगको तयारी छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल, उम्मेदवार, खर्च र प्रचारलगायतमा पालना गर्नुपर्ने विषय आचारसंहितामा समेटिएको बताए । उम्मेदवारी दिन चाहने स्थानीय तहका पदाधिकारीले मनोनयनअगाडि राजीनामा दिनुपर्ने व्यवस्था पनि गरिएको उनले बताए ।
आचारसंहितामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीले आफू निर्वाचित, मनोनीत तथा नियुक्त भएको निकायबाट लिएको सबै प्रकारको पेस्की उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडि नै अनिवार्य फर्स्योट गर्नुपर्ने व्यवस्था छ ।
‘उम्मेदवारले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट लिएको कुनै पनि प्रकारको पेस्की फस्र्योट गरेको हुनुपर्नेछ,’ आचारसंहिताको दफा ४६ मा उल्लेख छ । त्यसैगरी आचारसंहिताको दफा ४७ मा छ, ‘लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसाथ असुलउपर गर्ने भनी कायम भएको बेरुजु फर्स्योट गरेको हुनुपर्नेछ ।’
संविधानको धारा २१५ ९५० र २१६९५० मा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनेको योग्यताबारे व्यवस्था छ । त्यस्तै, स्थानीय तह निर्वाचन ऐन, २०७३ मा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार हुनेको योग्यताबारे व्यवस्था उल्लेख छ । तिनै व्यवस्थालाई आचारसंहिताले व्याख्या गरेको प्रवक्ता पौडेलले बताए ।
आचारसंहिताअनुसार हाल बहाल रहेको स्थानीय तहको पदाधिकारीले निर्वाचनमा भाग लिनुपर्ने अवस्थामा पारिश्रमिक र सुविधा भुक्तान गरेको अवस्था भए त्यस्तो व्यक्तिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ ।
नयाँ पत्रिका बाट