काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा नेपाली कांग्रेस बुथ क्याप्चर गरेको आरोप लगाएका छन् । उनले कांग्रेसले निर्वाचनमा बुथ क्याप्चर गरेरमात्र पहिलो पार्टी बनेको आरोप लगाएका हुन् ।
नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका ओलीले भने-‘बुथ क्याप्चर गरेर कांग्रेस पहिलो पार्टी भएको हो । नत्र एमाले पहिलो पार्टी हुन्थ्यो । लोकप्रिय मतको हिसाब एमाले पहिलो पार्टी छ ।’
अध्यक्ष ओलीले झण्डै दुई तिहाई नजिक पुराएको कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थीको इशारामा फुटाउन कम्युनिस्ट भन्नेले भूमिका खेलेको देख्दा विश्वास नै नलागेको बताए ।
अध्यक्ष ओलीले पार्टीलाई सिद्धाउने चक्रव्युहबाट बाहिर निस्केको अवस्थामा अब दिगो बिजय हासिल गर्न मिशन ८४ मा ध्यान केन्द्रीत रहेको जानकारी दिए ।