काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसदमा बोल्न नदिने बताएका छन् ।
आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले भने -‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने? बकवास बोलिरहने? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो पनि डेमोक्रेसी हुन्छ?’
अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको तर्क छ ।
ओलीले संसद कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको पनि बताए ।कांग्रेसले एमालेका कारण संसद अवरोध गर्नुपरेको बताएको भन्दै अध्यक्ष ओलीले यसमा आफू चुप लागेर नबस्ने बताए।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ।