काठमाडौँ । स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि लौरो छुट्ने भएको छ। सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेपछि लौरो छुट्ने भएको हो।
‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराउनेबारे उल्लेख गरिएको छ।
प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि ४० दिन कार्यावधि तोकेर प्रदान गर्ने सेवा सुविधासहित आवेदन खुलाएको छ। जसमा मासिक आधारभूत तलब २२ हजार ६ सय ६० सहित एकमुष्ट ३० हजार २ सय ४०, पोसाक भत्ताबापत् एकमुष्ट ६ हजार, रासन भत्ताबापत् एकमुष्ट ७ हजार २ सय र यातायात भाडा एक पटकका लागि एक हजार उपलब्ध गराइने उल्लेख छ। तर, कार्यविधिमा उल्लेख गरिएको बेतका लौरोलाई भने पोसाकको अंगमा गाभेर खर्च कटौती गरिएको छ।
अहिले एउटा बेतको लौरोको बजार मूल्य दुई हजार रुपैयाँ रहेको छ । जसअनुसार एक लाख बेतको लौरोलाई मूल्य २० करोड रुपैयाँ हुन आउँछ।