रुसी विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत १३ जना शीर्ष अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लागू गरेको जानकारी दिएका छन्।
प्रतिबन्ध लाग्ने अमेरिकी नेताहरूमा जो बाइडनका अतिरिक्त विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षा मन्त्री लोयिड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान, सीआईए प्रमुख विलियम बन्र्सको नाम समावेश छ ।
प्रतिबन्धको सूचीमा कुनै शीर्ष सरकार पदमा नरहेका पूर्वविदेश मन्त्री हिलारी क्लिन्टन र राष्ट्रपति बाइडेनका छोराको नामसमेत समावेश छ।
रुसी विदेश मन्त्रालयले अमेरिकी सैन्य अधिकारी, सभासद, व्यापारी र मिडियाकर्मीहरूमाथि थप प्रतिबन्धहरू घोषणा गर्ने चेतावनी पनि दिएको छ। प्रतिबन्ध लागेका अमेरिकी नेताहरूले अब रुस प्रवेश गर्न पाउने छैनन् । साथै रुसमा भएका तिनको सम्पति रोक्का हुनेछ।
तथापि, रुसी विदेश मन्त्रालयले यी प्रतिबन्धले प्रभाविक व्यक्तिसँगको उच्चस्तरको सम्पर्कलाई अवरोध नपु¥याउने जानकारी दिएको छ। यस अर्थमा केहीले रुसी प्रतिबन्धलाई सांकेतिक मात्रै मानेका छन्।
अमेरिकालगायत कैयौं पश्चिमी मुलुकहरूले यसअघि नै विभिन्न शीर्ष रुसी नेतालाई प्रतिबन्ध लगाइसकेको थियो। युक्रेनमाथि आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, विदेश मन्त्री सर्गेई लाभारोभ र क्रेमलिनकी प्रेस सचिव दिमित्री पेस्कोभ लगायतमाथि पश्चिमी शक्तिले प्रतिबन्ध लगाएको छ।
ह्वाइट हाउसले भने रुसी कदमलाई हल्का रूपमा लिएको देखिएको छ। मंगलबारको प्रेस भेटघाटमा ह्वाइट हाउसकी प्रेस सचिवले रुसी प्रतिबन्ध सूचीमा जो बाइडेनको नाममा जुनियर छुट्दा हाँसउठ्दो अवस्था उत्पन्न भएको प्रसंग उल्लेख गरिन्।
‘राष्ट्रपति बाइडेनको औपचारिक नाममा जुनियर छ, जुन प्रतिबन्ध सूचीमा छुटेको छ। रुसीहरूले प्रकाशित गरेको नामले त बाइडेनको पितालाई प्रतिबन्ध लगाएको देखिन्छ,’ ह्वाइट हाउसकी प्रेस सचिव जेक साकीले बताइन्।
रिपोर्टरहरूका अन्य गम्भीर प्रश्नको जवाफ दिने क्रममा साकीले रुसी कदमले अमेरिकालाई कुनै असर नगर्ने बताइन्। ‘हामी कसैको पनि रुसमा बैंक खाता छैन। त्यसैले हाम्रो पैसा जफत हुने कुरै आउँदैन। न त हामीहरू कोही रुसको भ्रमण गर्ने सोचमै छौं,’ प्रेस सचिव जेक साकीले बताइन्। रुसी प्रतिबन्धले रुसी अमेरिकाबीचको संवाद प्रभावित नहुने कुरामा बाइडेन प्रशासनले विश्वास लिएको साकीले बताइन्।