भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।
रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी फुटाउने माओवादी केन्द्र अब त्यसको शिकार हुने बताए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनु भएका मन्त्री यादवले भने, “हाम्रो पार्टी फुटाउने माओवादी केन्द्र नै हो भन्ने पुष्टी प्रधानमन्त्री प्रचण्डले हिजो सिन्धुली पुगेर प्रष्ट पारिसकेका छन्, प्रधानमन्त्रीले हिजो सिन्धुलीको एक कार्यक्रममा गर्वका साथ आफुनो सरकार टिकाउन जसपा फुटाएको बताउनुभयो, यसको शिकार अब माओवादी आफै हुनेछ ।”
पार्टी भित्र कुनै विवाद, असन्तुष्ट र कारण नभएको अबस्थामा आफू सरकारकै प्रतिनिधित्व गरेर विदेश गएको अबस्थामा यता पार्टी फुटाउने षडयन्त्र भएको भन्दै उनले माओवादीलगायत अरु पार्टी पनि फुट्ने दाबी गरे ।
पार्टी फुटाउने नेताहरुलाई मागेजति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले भने , “काठमार्डौं ३०० भोट आएको भएपनि समावशी तर्फबाट राजेन्द्र श्रेष्ठ यसअघि मन्त्री बनाएकै हो, नवलकिशोर साह अहिले पनि मन्त्री छन्, अशोक राईलाई सांसद र मन्त्री बनाएकै हो, उनकी श्रीमतिलाई सांसद बनाएकै हो, त्यहाँ भन्दा माथि के गर्न सकिन्छ र ? अब अरु पार्टीमा जान बार्गेनिङ गर्न खोज्दैछन्, यिनका गन्तव्य एमाले माओवादी नै हो ।”
पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने बताउँदै उनले. भने , “म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षडयन्त्र गरेर पार्टी फुटाईयो, पार्टी फुटाएको विषयलाई लिएर हामी आइतबारसम्म सर्वोच्चबाट कानूनी रुपमा चुनौती दिनेछौँ, सर्वोच्चले पक्कै न्याय दिनेछ र पार्टी फुटलाई बदर गर्नेछ ।”
पार्टी फुटाएको विषयलाई केटाकेटीपनको संज्ञा दिदै उनले षडयन्त्रपूर्वक अस्वाभाविक, सिद्धान्तबिहन रुपमा अनैतिक र असंबैधानिक कार्य गरेको भन्दै उनले अदालतले पार्टी फुटलाई बदर गर्ने विश्वास रहेको बताए ।
नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अबस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाब दिएको उनले बताए ।
पार्टी फुटले सरकारलाई कुनै असर गर्ने मन्त्री यादवले बताए । उनले भने, “हाम्रो प्रयास हिजो पनि, आज पनि स्थिर सरकार र स्थिरता, खोजेका हौँ, हामी त्यो दायित्वबाट पछि हट्दैनौ, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्देनौ ।” आफ्नो पार्टीले राजनीतिक स्थिरता, शुसासन, बिकास, सम्बृद्धि र संघीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा आफ्नो पार्टी नलाग्ने बताए ।
पार्टी फुटाएर लोकतन्त्र कमजोरी पार्ने, देशलाई अस्थिरता ल्याउन र अन्यपार्टीसंग बार्गेनिङ गरेर एमाले र माआोवादी पार्टी प्रवेश गर्ने तयारीमा रहेको दाबी गरे । रफत सञ्चार क्लबका अध्यक्ष शुसिलबन्धु थापाको सभापतित्वमा भएको कार्यक्रममा उनले वर्तमान् राजनीतिक अबस्थाकाबारेमा जानकारी गराए ।