काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी जसपा फेरी फुटेको छ ।
यस अघि संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण गराउदै जनता समाजवादी पार्टी नेपालमा समाहित भएका नेताहरूले जसपा नेपाल छाडेका छन्।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका छन्।
२३ गतेमात्र उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको थियो ।
पहिचानवादी मोर्चाले पनि पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको आरोप लगाएको छ ।
डा लवतीले गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको भन्दै आफूहरू जसपा नेपाल वा जसपा कुनैको पक्ष नलिने तर पहिचानवादीहरूसँग सहकार्य गर्ने बताए।
पहिचानवादी मोर्चाका संयोजक लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको भन्दै नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने प्रष्ट पारे।