काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको अनुदानमा बन्ने न्यु-बुटवल सबस्टेसन नेपालका लागि पहिलो ठेक्का बनेको छ ।
३९ महिनाभित्र निर्माण सक्ने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण हुने ४०० केभी न्यु-बुटवल सबस्टेसन निर्माण गर्न लिंकसन इन्डिया प्रालिसँग एमसीए-नेपालले बिहीबार ठेक्का सम्झौता भएको हो ।
नवलपरासीमा एक कार्यक्रमको आयोजना गरी उक्त ठेक्का सम्झौता गरिएको छ । एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिंकसन इन्डिया प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल गायतको उपस्थिति थियो ।
एमसीए-नेपालले यो परियोजना अन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दैछ । बाँकी दुई सबस्टेसन नुवाकोट रातमाटे र तनहुँ दमौलीमा निर्माण हुँदैछन् । यी दुई सबस्टेसन निर्माण गर्न पनि प्राविधिक रूपमा योग्य ठेकेदारले पेस गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ । बाँकी दुई सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि अन्तिम तयारी रहेको भै रहेको छ ।