बिराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशीमा नयाँ सरकार गठनका लागि आह्वान माग गर्न प्रदेश प्रमुख समक्ष माग गरेका छन् ।
मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले बुधबार कोशीका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । प्रदेश प्रमुख खापुङलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत नेताहरु पुगेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । तर मुख्यमन्त्री कार्कीले भने संविधानको १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले समर्थन फिर्ता लिएका आधारमा विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था नभएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिए एमाले र माओवादी प्रदेश प्रमुख गुहार्न पुगेका हुन् ।