काठमाडौं- आज ८ मे। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९८४- अमेरिकामा हुने ओलम्पिकमा सहभागी नहुने सोभियत संघको घोषणा
सन् १९८४ मा आजकै दिन तत्कालीन सोभियत संघले अमेरिकामा हुने ओलम्पिक खेलमा सहभागी नहुने घोषणा गरेको थियो। शीतयुद्ध उत्कर्षमा रहँदा मस्कोले अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिकमा सहभागी हुन अस्वीकार गरेको थियो। क्युबा, अफगानिस्तान, बुल्गेरिया, इथियोपिया, पूर्वी जर्मनी, हंगेरी, पोल्यान्ड र भियतनामले पनि सोभियत संघको सोही पथ पछ्याएका थिए। त्यसको ४ वर्षअघि अमेरिकाले मस्कोमा आयोजित समर ओलम्पिकमा आफ्ना एथलेट पठाएको थिएन।
– सन् १९७८- अक्सिजनबिनै सगरमाथा चुचुरोमा
सन् १९७८ मा आजकै दिन इटालीका रेनहोल्ड मेस्नर र अस्ट्रियाका पिटर हेबेलर अक्सिजनको सहायताविनै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। विनाअक्सिजन सगरमाथा शिखर चुम्ने उनीहरू पहिलो पर्वतारोही थिए। त्यस अघिसम्म अक्सिजनको सहायताविना सगरमाथा शिखर चुम्न असम्भव मानिने गरेको थियो।
– सन् १८८६- कोकाकोलाको आविष्कार
१३८ वर्षअघि आजकै दिन कोकाकोलाको आविष्कार गरिएको थियो। अमेरिकाको एटलान्टाका फर्मासिस्ट डा. जोन स्टाइथ पेम्बर्टनले आफ्नो घरमा पित्तलको भाँडोमा कोकाकोलाको सिरप उत्पादन गरेका थिए। उनले यसलाई औषधिका रूपमा प्रयोग गर्न सकिने विश्वासका साथ बनाएका थिए। तर, पछि यो शीतल पेय पदार्थका रूपमा संसारभर परिचित भयो। र, आजको दिन यो संसारभर लोकप्रिय पेयका रूपमा चिनिन्छ।
– सन् १९०२- ज्वालामुखी विष्फोटमा गयो ३० हजारको ज्यान
फ्रान्सको माउन्ट पेलीमा आजकै दिन भएको ज्वालामुखी विष्फोटमा परी ३० हजार जनाले ज्यान गुमाएका थिए। त्यसमा परी सेन्ट पियरे बन्दरगाह ध्वस्त भएको थियो। र, उक्त द्विपको १५ प्रतिशत जनसंख्याको विनाश भएको थियो।
– सन् २०१९- फेक न्युजविरुद्ध सिंगापुरमा कानून
सन् २०१९ मा आजकै दिन फेक न्युजविरुद्ध सिंगापुरले कानून पारित गरेको थियो।