काठमाडौँ । भारतबाट लागु औषध बोकी नेपाल आउँदै गरेका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका ७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका ३ का ३० वर्षीय सुमन विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
गए राति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागु औषध बोकी महोत्तरीको औरही नगरपालिका ४ स्थित कठुधारचोकमा युवकद्वयलाई प्रहरी टोलीले शंका लागि जाँच गर्दा लागु औषध फेला परेका हो ।
उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्पुल लागु औषध तथा सुई बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ ।