काठमाडौं- माइग्रेन एक किसिमको मस्तिष्कको समस्या हो। कहिलेकाहीं हाम्रो मस्तिष्क बढी संवेदनशील हुन्छ। मस्तिष्कमा नसा मात्र नभई स-साना रगतका धमनीहरू पनि हुन्छन्। ती धमनीहरू कहिलेकाहीं सानै कुराबाट पनि संवेदनशील भइदिन्छन्।
जसरी लजालु झार छुनेबित्तिकै खुम्चिन्छ, त्यसरी नै मस्तिष्कका धमनीहरू पनि केही केमिकलहरूको सम्पर्कमा आएमा खुम्चन पुग्छ। र, हाम्रो नसाले त्यो दुखाइको चाल पाउँछ। जसकारण टाउकोको एक पाटो बेस्सरी दुख्न थाल्छ, जसलाई माइग्रेन भनिन्छ।
माइग्रेनको ट्रिगर के हो ? के कारणबाट मस्तिष्कका धमनीहरू बढी संवेदनशील हुन्छन् ? यी विषयमा जान्नु निकै आवश्यक छ। कति मानिसलाई माइग्रेन खानेकुराबाट पनि हुने गर्छ, दूधबाट बनेका परिकार, अमिलो अचार, सिसामा राखिएका पुराना अचार, गुन्द्रुक, सुपरमार्केटमा प्याकेजिङ गरेर राखिएका खानेकुराबाट पनि माइग्रेन हुन्छ। सुपरमार्केटमा राखिएका तयारी खानेकुरामा केमिकलको प्रयोग गरिएको हुन्छ। सल्फाइट, नाइट्रेटजस्ता केमिकलको प्रयोग भएका खानेकुराबाट मस्तिष्कका नसा खुम्चन गएमा माइग्रेन हुन्छ।
माइग्रेनलाई लिएर समाजमा धेरै अफवाह फैलिएको पाइन्छ। माइग्रेन भएमा जीवनभर दुःखमा परिन्छ, यसको उपचार नै हुँदैन, केही पनि गर्न सकिँदैनजस्ता कुरा बढी सुनिन्छन्। तर, यो सत्य होइन। अहिलेको अवस्थामा माइग्रेनका ९९ प्रतिशत बिरामीहरू खुशीका साथ जीवन निर्वाह गरिरहेका छन्।
खानेकुराबाहेक खाली पेट बस्दा पनि माइग्रेन हुन्छ। कहिलेकाहीं कफी पिउने मानिसलाई त्यसले माइग्रेन गराउँछ भने कतिपयमा कफीले सञ्चो गराएको पनि देखिन्छ। त्यो मान्छेअनुसार भर पर्छ। माइग्रेनका कतिपय बिरामीले माइग्रेन हुँदा यो खानु हुँदैन, त्यो खानु हुँदैन भनेर हरेक कुरा बारेर जीवन नै दुःखी बनाइरहेको भेटिन्छ। त्यसो गर्नु गलत हो।
किनभने, कसैलाई दूधबाट बनेका परिकारले माइग्रेन हुन्छ भने अर्को व्यक्तिलाई पनि त्यस्ता परिकारले माइग्रेन हुन्छ भन्ने छैन। कसैलाई अनिँदोका कारण पनि माइग्रेन हुन सक्छ। किशोरीहरूमा महिनावारीको समयमा भास्कुलर हेडेकले पनि माइग्रेन गराउँछ। यस्तै, तनावलाई पनि माइग्रेनको कारण मान्न सकिन्छ।
माइग्रेनका बिरामीले आफूलाई कुन कारण र कुराले बल्झाउँछ भन्ने पहिचान गर्न आवश्यक छ। कुनै मितिमा टाउको दुख्दा के खाना खाएको थिएँ वा कस्तोखाले वातावरण थियो भन्ने हेक्का राख्नुपर्छ। कतिलाई गर्मीमा काम गर्दा, कतिलाई चिसोले, कतिलाई सेन्ट वा पेन्टहरूको गन्धले पनि माइग्रेन हुन सक्छ। त्यसकारण आफूलाई बल्झाउने कुरालाई पहिचान गर्नु निकै आवश्यक छ।
माइग्रेन उपचार नै नहुने या भइसकेपछि कहिल्यै निको नहुने रोग होइन। यसलाई समयमै नियन्त्रण गर्न सकियो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
उपचार
माइग्रेनका बिरामीहरूमा दुई किसिमको औषधि चलाइन्छ- माइग्रेन हुन नदिन र भइसकेपछि निदान गर्न। माइग्रेन हुन नदिन बिरामीलाई दैनिक सेवन गर्ने औषधि दिइन्छ।
‘क्लासिकल माइग्रेन’मा मानिसलाई अब मलाई टाउको दुख्छ है भन्ने भान अगाडि नै हुन्छ। हाईहाई आउने, अल्छी लागेजस्तो हुने, आँखाबाट झिल्काहरू आएजस्तो हुने लक्षण देखापरेको केही समयपछि विस्तारै दुखाइ शुरु हुन थाल्छ। र, सहनै नसक्ने चरणमा दुखाइ हुन थाल्छ। त्यस्तो दुखाइ ३-४ दिनसम्म पनि रहन सक्छ।
‘क्लासिकल माइग्रेन’मा एकै किसिमको टाउको दुखाइ हुन्छ। यसका साथै टाउकोको एक पाटो मात्र दुख्ने, टाउको बल्किने, आँखाको नानी झर्लाजस्तो गरी दुख्ने, दुखेपछि केही पनि गर्न नसक्ने, घाममा पनि हेर्न नसक्ने, शान्त कोठामा सुतेर बस्नुपर्ने, ३-४ दिनसम्म त्यसले दुःख दिनेजस्ता लक्षण देखापर्छन्। अफिस जाने महिला छन् भने माइग्रेनको कारणले अफिसै जान नसक्ने लक्षण पनि क्लासिकल माइग्रेनमा देखापर्छ।
तथापि, सबै टाउको दुखाइ माइग्रेन हुँदैन। कतिपय टाउको दुखाइ अन्य रोगका कारणले पनि हुन सक्छ। ब्रेन ट्युमरका कारण पनि माइग्रेनझैं टाउको दुखाइ हुनसक्छ। चिकित्सकको निगरानीमा जाँचको क्रममा माइग्रेन वा ब्रेन ट्युमर के हो भनेर पत्ता लगाउन सकिन्छ। माइग्रेनको टाउको दुखाइको प्रकृति कस्तो हो भन्ने पत्ता लगाउनु आवश्यक छ। त्यसैले हो, माइग्रेन हुन नदिन र भइसकेपछि दुखाइ कम गर्न औषधि चलाइने पनि।
‘क्लासिकल माइग्रेन’ हुनु अगावै टाउको दुख्ने भान हुन्छ। त्यस्तो भान हुनेबित्तिकै दुखाइ शुरु हुनु अगावै औषधि सेवन गरेमा त्यसले बढी दुख्न दिँदैन। त्यो औषधि दैनिक प्रयोग गर्नुपर्दैन। टाउको दुख्न सक्ने भान भएपछि मात्र दुखाइ नियन्त्रणका लागि औषधि सेवन गर्नुपर्छ।
तीबाहेक घरायसी तरिकाबाट पनि यसको उपचार गर्न सकिन्छ। जे कुराले माइग्रेन बल्झाउँछ, त्यसबाट टाढा रहने, ग्रिन टी, लेमन टी पिउने, चिसो पानीले नुहाउने, तनाव नलिनेजस्ता कुरा अपनाउँदा माइग्रेनको दुखाइ कम गर्न सकिन्छ।