भारतका पाँच प्रदेश अध्यक्षहरूले कंग्रेस अध्यक्षहरूलाई केन्द्रीय अध्यक्ष सोनिया गान्धिले राजीनामा मागेकी छन्। पाँचवटा राज्यमा हालै सम्पन्न विधानसभा निर्वाचनमा शर्मनाक हारपछि उनीहरूलाई राजीनामा दिन गान्धिले निर्देशन दिएकी हुन्।
उत्तरप्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुर राज्यका कंग्रेस अध्यक्षहरूले प्रदेशमा पार्टी कमिटी पुनर्गठनका लागि राजीनामा माग गरिएको उक्त पार्टीका नेता रणदीप सुरेजावालाले ट्विटरमार्फत जानकारी दिएका छन्।
अखिल भारतीय कंग्रेस गोवा एकाइ कमिटीका प्रमुख दिनेश गुन्डुका अनुसार त्यहाँका अध्यक्ष गिरिश चाडनकरले राजीनामा पठाएका छन्।
पाँचवटा राज्यमा कंग्रेस पार्टीको शर्मनाक हारपछि गत आइतबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक भएको थियो। करिब पाँच घण्टाको बैठकमा विधानसभा निर्वाचनमा भएको हारबारे समीक्षा भएको थियो। बैठकले कंग्रेस पार्टी सोनिया गान्धिकै अध्यक्षतामा अगाडि बढ्ने निर्णय गरेको थियो।
पञ्जाब, गोवा र उत्तराखण्डमा कंग्रेसको राम्रो पकड मानिएको थियो। तर, चुनावमा कमजोर प्रदर्शन गरेको थियो। पञ्जाबमा कंग्रेस अध्यक्ष नवजोतसिंह सिद्धु र नेता चरणजित चन्नीबीचको व्यक्तित्वको टकराव हारको मुख्य कारण बनेको निष्कर्ष बैठकले निकालेको थियो।
उत्तरप्रदेशमा पनि प्रियंका गान्धिले चुनावी कमान्ड सम्हालेकी थिइन्। तर, ४०३ सदस्यीय विधानसभामा कंग्रेसले दुई सिट मात्र जितेको छ।