काठमाडौँ । कलाकार दीपकराज गिरीले गायक प्रकाश सपुतले केही दिनअघि सार्वजनिक गरेको गीतमाथि टिप्पणी गरेका छन् । उनले उक्त गीतलाई लिएर केही मानिसहरू समूह नै बनाएर माओवादीमाथि खनिएको बताए ।
‘पीर गीत असाध्यै राम्रो, मलाई पनि छोयो, धेरैलाई छोएको हुनु पर्छ, तर केही मानिस मौका यही हो भनेर माओबादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखेँ,’ उनले सपुतको गीतमाथि टिप्पणी गर्दै उनले भने, ‘त्यस्तो कुन चाहिँ पार्टी छ, जहाँ केही मानिसको रजाई र केही मानिसको हरिबिजोक भा छैन ?’
उनले कुनै पनि राजनीतिन दलका नेताले हाम्रो पार्टीमा पीर गीतको भिडिओमा देखाइएको जस्तो अवस्था छैन भन्ने नरहेको ठोकुवा गरे । यस्तै, उनले माओवादीले ल्याएको संविधानमा टेकेर राजनीति गर्नेहरू उसैलाई नै सत्तो सराप गरिरहेको आरोप लगाए ।
‘उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तो सराप पनि उसैलाइ गर्ने ?,’ उनले भने, ‘हो गीत बन्द गर्न दबाब चाहिँ दिनु गलत नै हो ।’