काठमाडौँ । संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएकाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । गत बिहीबार मादी नगरपालिका ६ सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।
सोमबार बसेको मादी नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए । यस्तै, बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजार दिने भएको छ ।
मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरेको प्रमुख सुब्बाले बताए । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उनको भनाइ छ ।
मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नं को बस दुर्घटना हु्ँदा १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताए ।