नयाँदिल्ली- अत्यधिक व्यस्त संसारमा फास्ट फुड अनिवार्य खाना बनेका छन्। मानिस पिज्जा, बर्गर, मःम, नुडल्सजस्ता फास्ट फुडमा रमाएका छन्। तर, यस्ता फास्टफुडले शरीरको रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर)लाई घटाइरहेका छन् भन्नेमा कमैको ध्यान पुगेको पाइन्छ।
किनकि, यस्ता खानामा पोषण पटक्कै हुँदैन। उल्टै मोटोपन र उच्च रक्तचापको समस्या निम्त्याउँछन्।
हालै अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा भएको अध्ययनअनुसार हाई फ्याट डाइटका कारण मोटोपन बढ्ने मात्र नभई क्यान्सर र अल्सरजस्ता रोग पनि बढेको पाइएको छ। हाई फ्याट डाइट खाने मानिसमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर पाइएको छ। यस्ता खानाले दिमागलाई पनि कमजोर बनाउँछन्।
फ्याट शब्द सुन्नासाथ सीधै शरीरको वजन शब्द पनि जोडिएर आउँछ। तथापि, बोसो शरीरका लागि ऊर्जाको स्रोत पनि हो। १ ग्राम कार्बोहाइड्रेट र १ ग्राम प्रोटिनबाट ४ क्यालोरी प्राप्त हुन्छ। तर, १ ग्राम खराब फ्याटबाट ८ क्यालोरी प्राप्त हुन्छ। फास्टफुडले शरीरमा खराब फ्याट बढाइरहेका छन्।
अस्ट्रेलिया विश्वविद्यालयको सन् २०२२ को अध्ययनअनुसार लामो समय हाई फ्याट डाइट लिँदा शरीरमा ग्रोथ हर्मोनको कमी हुन्छ। र, शरीरको विकास सुस्त हुन पुग्छ।
यस्ता छन् असर
– मोटोपनमा अत्यधिक वृद्धि। यो संसारकै ठूलो समस्या हो। र, यसका कारण हाई कोलेस्टेरोल, उच्च रक्तचाप, अनिद्राजस्ता समस्या देखा पर्छन्।
– जीनलाई कमजोर बनाउँछन्। हाई फ्याटका खाना खाँदा तपाईंका सन्तानको शारीरिक र मानसिक स्वास्थ्य कमजोर हुन्छ।
– रोग प्रतिरोधात्मक प्रणालीमा गम्भीर असर पुग्छ। क्यालिफोर्निया विश्वविद्यालयको अध्ययनबाट यस्ता खानेकुराले जिनमै असर पार्ने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा असर पुग्नु स्वाभाविकै हो।
– यस्ता खानेकुराले डिप्रेसनको समस्या पनि निम्त्याउँछन्। तनाव बढाउँछन्। स्मरणशक्ति कमजोर बनाउँछन्। दिमागमा सुन्निने समस्या पनि उत्पन्न गराउँछन्।
– फलफूल पनि अत्यधिक नखानूस्। किनकि, अत्यधिक फलफूलको सेवनले पनि फाइबर, भिटामिन्स र म्याग्नेसियम अधिक भएर शरीरमा सुगर लेभल बढ्छ।
– ड्राइ फुड्स अधिक खाँदा पनि शरीरमा सोडियम र मोटोपन बढ्न सक्छ। कब्जियत र मधुमेहको समस्या हुन सक्छ।
– स्याचुरेटेड फ्याटलाई कलेजोले उपयोग गर्छ। तर, यस्तो फ्याट अधिक खाँदा कोलेस्टेरोल बढ्छ। सबै प्रकारका मांसहारी वस्तुमा स्याचुरेटेड फ्याट हुन्छ।
– पोली अनस्याचुरेटेड फ्याट पाइने सोयाबिन, सर्स्यूँ, सूर्यमुखीलगायत वनस्पति तेलका कारण सुगर लेभल बढ्दैन।
– यस्तै, मोनो स्याचुरेटेड फ्याट पनि स्वास्थ्यका लागि राम्रो हुन्छ। र, शरीरमा गुड कोलेस्टेरोल बढाउन मद्दत पुर्याउँछन्।
– ट्रान्स फ्याट भने खतरनाक हुन्छन्। यसले कोलेस्टेरोलको मात्रा उच्च बनाउँछ। यसले हृदयाघात र स्ट्रोक निम्त्याउँछ। केक, कुकिज, पेस्ट्री, आइसक्रिमलगायतमा ट्रान्स फ्याट पाइन्छ।
भास्कर डट कमबाट