काठमाडौं । केही दिन यता सामाजिक सञ्जालमा नेपालमा नोटबन्दी हुने चर्चा चलेको छ । नोटबन्दीको चर्चा चलेसँगै सबैले आ-आफ्नो तरिकाले टिका टिप्पणी गरिरहेका छन् । अझ सेयर बजार सम्बन्धी छलफल गर्ने ग्रुपहरुमा यो विषयले निकै चर्चा पाएका छन् । अहिले लगानी योग्य रकम अभाव भएको र कतै कालोधन लुकाइएको छ कि भन्ने आशंकामा यस्ता विषयहरु सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्ने विज्ञहरु बताउँछन् ।
कतिपयले नोट बन्दीको विषयमा केन्द्रीय बैंकले निर्णय गर्न लागेको जस्तै गरेर आफ्ना धारणा राखिरहेका छन् । नेपालमा नोटबन्दी हुने भन्दै हल्ला कसले कहाँबाट कसरी चलायो भन्ने प्रष्ट छैन ।
तर नोटबन्दीको विषयमा केन्द्रीय बैंकलाई औपचारिक जानकारी छैन । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नोटबन्दीका विषय अफवाह मात्र भएको बताए । ‘कसैले फेसवुकमा के लेखिदियो, त्यसकै पछि अरु लागे’ उनले भने, ‘कसले, किन लेख्यो भन्ने विषयमा केही जानकारी छैन । कुरा स्पष्ट छ( यो केवल अफवाह हो ।’
अहिले सामाजिक सञ्जालमा चलेको नोटबन्दीको विषयमा सरकारी स्तरबाट नै हल्ला चलाइएको हुनसक्ने अर्थशास्त्री डा। रमेशकुमार भण्डारीले बताए । अहिले देशमा तनाव दिइरहेको महंगीलाई विषयान्तर गर्न सरकारी तहबाटै यस्तो विषय बाहिर आएको हुनसक्ने उनको अनुमान छ ।