काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्तुत भएको छ । आज दिउँसो बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्ध महाभियोग प्रस्तुत गरेका हुन् ।
यस्तै, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवन राम श्रेष्ठ प्रस्तावकका साथ ९५ जना सांसद समर्थक रहेको महाभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेश भएको हो ।
बैठकमा गुरुङले महाभियोग पेश गर्नुका कारण प्रधानन्यायाधीश जबरामाथि लगाइएको आरोप प्रस्तुत गरेका छन् । बैठकमा अर्को बैठक चैत २ गते बस्ने गरी स्थगित भएको छ ।
जबराविरुद्ध संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्य क्षमता अभाव भएको, खराब आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेकोलगायत आरोप लगाइएको छ ।