अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लड्न सहयोगस्वरूप २० करोड डलरबराबरका हतियार तत्कालै पठाउने भएको छ।
साना हतियार, एन्टी-ट्यांक र एन्टी-एयरक्राफ्ट हतियार अमेरिकाले युक्रेनलाई दिन लागेको हो। ती हतियार रुसी सैन्य आक्रमणविरुद्ध उपयोगी हुने अपेक्षा रहेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार युक्रेनलाई अतिरिक्त सुरक्षा सहायतासम्बन्धी प्रस्ताव स्वीकृत गरेका छन्। सोहीअनुसार युक्रेनमा हतियार पठाउन लागिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति बाइडेनले उक्त सहायता तत्काल कार्यान्वयनमा लैजान पनि निर्देशन दिएका छन्। जनवरी २०२१ यता अमेरिकाले युक्रेनलाई एक अर्ब २० करोड डलरबराबरको सुरक्षा सहायता प्रदान गरिसकेको छ। यो आँकडा सन् २०१४ यता तीन अर्ब २० करोड डलर पुगेको छ। रुसले युक्रेनको क्रिमियालाई जबर्जस्ती कब्जामा लिएपछि युक्रेनमा अमेरिकी सहायता बढेको हो।